स्विडेन र फिनल्यान्डलाई नाटोमा सामेल हुन उपयुक्त समय : पूर्वमहासचिव
मस्को, वैशाख २५ : नाटोका पूर्व महासचिव एन्डर्स फोग रासमुसेनले स्विडेन र फिनल्याण्डलाई नाटोको सैन्य गठबन्धनमा सामेल हुने समय आएको बताएका छन्। उनले...
मस्को, वैशाख २५ : नाटोका पूर्व महासचिव एन्डर्स फोग रासमुसेनले स्विडेन र फिनल्याण्डलाई नाटोको सैन्य गठबन्धनमा सामेल हुने समय आएको बताएका छन्। उनले भने, 'रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणमा व्यस्त छन्।'
'जहाँसम्म फिनल्याण्ड र स्विडेनको सवाल छ, मलाई लाग्छ यी दुई देशहरू गठबन्धनमा सामेल हुने यो उपयुक्त अवसर हो,'
रासमुसेनले शनिबार सीएनबीसीलाई सो कुरा बताएका हुन्।
उनले चेताउनी दिदै भने, 'सम्मिलन प्रक्रिया पूरा हुन 'महिनौ' लाग्न सक्छ किनकि नाटोका ३० सदस्य राष्ट्रहरूको संसद्ले सबैले सम्मिलन प्रोटोकललाई अनुमोदन गर्न आवश्यक हुन्छ।'
'यसका लागि केही महिना लाग्छ र त्यो अवधिमा फिनल्याण्ड र स्विडेन दुवैलाई सम्भावित रूपमा रूसी धम्की आउन सक्छ । तर हामीले भने उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ,' रासमुसेनले भने, 'मानौं तिनीहरू पहिले नै नाटोका सदस्य थिए।'
फिनल्याण्ड र स्विडेनले युक्रेनमा रुसी सैन्य अपरेशनको बीचमा दीर्घकालीन तटस्थता त्याग्न र नाटोमा सामेल हुने सम्भावनाबारे छलफल गर्न थालेका छन्।
गठबन्धनका प्रमुख जेन्स स्टोल्टनबर्गले मार्चमा भने अनुसार नाटोले फिनल्याण्ड र स्विडेनलाई खुशीसाथ स्वागत गर्नेछ र यदि उनीहरूले सामेल हुने निर्णय गरेमा उनीहरूको सदस्यता आवेदन द्रुतरूपमा अगाडि बढाउन सक्नेछन्।
अमेरिकाले स्विडेनले जुनको अन्त्यसम्ममा नाटोको पूर्ण सदस्य बन्नको लागि औपचारिक आवेदन पेश गर्ने अपेक्षा गरेको छ जबकि फिनल्यान्डले यसअघि नै प्रवेश गर्ने निर्णय गर्न सक्नेछ।












