Kathmandu Press

गंगा सप्तमी पर्व मनाइँदै

काठमाडाैं, वैशाख २५ : प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ।द्वापरयुगमा कपिलमुनिको...
गंगा सप्तमी पर्व मनाइँदै

काठमाडाैं, वैशाख २५ : प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ।

द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उहाँका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या गरी स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ।

Hardik ivf

वैशाख शुक्ल सप्तमीका दिन स्वर्गबाट पृथ्वीमा गङ्गा अवतरण गराइएकाले यस दिनलाई गङ्गोत्पत्ति पर्वका रुपमा मनाउन थालिएको हो। स्वर्गबाट गङ्गा अवतरण गराउने क्रममा पृथ्वी भासिने डरले महादेवले आफ्नो जटामा थापेको पौराणिक मत रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए।
 
गङ्गा नदी सागरमा मिसिएपछि यसको नाम गङ्गासागर हुन्छ। राजा भगीरथले ठूलो प्रयत्न गरेर गङ्गालाई पृथ्वीमा अवतरण गराएकाले भागीरथी नामले पनि गङ्गालाई पुकारिन्छ। गङ्गा सप्तमीसँग सम्बन्धित नभए पनि यस दिनलाई बीचमा पारी वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म बागमतीको कटुवाल दहबाट वाग्द्वारसम्म गरिने बागमती तीर्थ यात्रा यसवर्ष पनि स्थगित गरिएको पशुपतिनाथ आगमघरका पुजारी महेश भट्टले बताए। 

आगमघरका मूल पुजारी मदन भट्ट बिरामी परेको र उनले नदी किनारका मसानघाटमा गरिने साधनासम्बन्धी दीक्षा अरु कसैलाई नदिएकाले यस वर्ष पनि हाललाई वाग्मती तीर्थयात्रा स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। विसं २०७७ र २०७८ मा पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले वाग्मती तीर्थयात्रा स्थगित गरिएको थियो। 

नदीको पूजा आराधनाको विधि भने गरिने जनाइएको छ। तीर्थयात्रा स्थगित गरिए पनि वाग्मतीको आराधना एवं पूजा गर्ने विधिलाई भने यथावत् रुपमा निरन्तरता दिइएको उनले बताए। वाग्मती जस्तै विभिन्न स्थानमा रहेका नारायणी, गण्डकी, कोशी, कर्णाली, त्रिशूली, इन्द्रावती, सुनकोशीलगायत नदीमा पनि पूजाआराधना गरी गंगा सप्तमी पर्व मनाइन्छ।
 
वैदिक सनातन धर्मावलम्बीले गङ्गालाई पवित्र तीर्थस्थलका रुपमा पू्जा आराधना गर्छन्। हरेक नदी, पोखरी, ताल, तलाउमा रहेको पानीलाई गङ्गाकै रुपमा मानी प्रत्येक दिन बिहान ‘गङ्गे च यमुने चैव गोदावरी सरस्वती’ मन्त्रले गङ्गा आदि नदीको प्रार्थनासहित स्नान गर्ने सनातन धर्म शास्त्रीय विधि छ।
 
मनाइँदै रवि सप्तमी
 
आइतबार सप्तमी तिथि परेका दिन गरिने भगवान् सूर्यको विशेष पूजा आराधना पनि आज गरिँदै छ।

विशेषगरी आइतबारको व्रत बस्नेले मध्याह्नकालमा भगवान् सूर्यको विशेष पूजा आराधना गर्छन्। पूजा आराधनापछि सूर्यको १०८ वा १००८ नामको स्तोत्र पाठसमेत गर्ने परम्परा छ। 
 
आइतबारको व्रत गर्नेले दिनभर नै नून नखाने व्रतविधि रहेको पनि धर्मशास्त्रविद् गौतमले सुनाए। रवि सप्तमीको योग भने बेलाबेलामा परिरहेको हुन्छ।

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्