मतदान केन्द्रमा सामग्रीसहितको टोली प्रस्थान
मकवानपुर, वैशाख २५ : मकवानपुरको एक नगरपालिकासहित आठ स्थानीय तहका विभिन्न मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पठाइएको छ।आठ गाउँपालिका र थाहा नरपालिकाका विभिन्न...
मकवानपुर, वैशाख २५ : मकवानपुरको एक नगरपालिकासहित आठ स्थानीय तहका विभिन्न मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पठाइएको छ।
आठ गाउँपालिका र थाहा नरपालिकाका विभिन्न मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आ–आफ्नो मतदान केन्द्रमा आजै प्रस्थान गरिसकेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी, हेटौँडा उपमहानगरपालिकाको १११ मतदान केन्द्रमा भोलि सोमबार मतपत्रसहित निर्वाचन टोली खट्ने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार, मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगर र हेटौँडा
उपमहानगरपालिकासमेतका ३५६ मतदान केन्द्रमा कूल एक हजार ७७० जना निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सरकारी कर्मचारी खटाइएको छ।
जिल्लाको सबै मतदान केन्द्रमा निर्वाचन सु–व्यवस्थित रुपमा सञ्चालन गर्न प्रत्येक निर्वाचन अधिकृतले तीन जना स्वंयमसेवकको नियुक्ति गरी काम थाल्नेछन्।
मकवानपुरमा जिल्लाको विभिन्न अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रको छनोट गरी सशस्त्र प्रहरी, जनपथ प्रहरी सुरक्षाको लागि परिचालन गरिएको र प्रत्येक मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेनाको जनशक्तिलाई निगरानीको रुपमा राखिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राससलाई बताए।
मकवानपुर जिल्लामा २ लाख ९४ हजार ९ सय १९ जना मतदाता छन्। निर्वाचन आयोगले पठाएको ३ लाख २५ हजार मतपत्र जिल्लामा आइपुगेको तथा गाउँपालिका र नगरमा मतदाता संख्या अनुसार मतपत्रसहितका सामग्री पठाउन तयारीसमेत भैसकेको श्रेष्ठले जानकारी दिए।












