Kathmandu Press

अफगानी महिलाहरुलाई सार्वजनिक स्थानमा बुर्का लगाउन तालिवानको निर्देशन

अफगानी महिलाहरुलाई सार्वजनिक स्थानमा बुर्का लगाउन तालिवानको निर्देशन

काबुल, बैशाख २४ : तालिबानले शनिबार अफगानिस्तानका महिलामाथि केही कठोर प्रतिबन्ध लगाएको छ। उक्त समूहले सत्ता कब्जा गरेपछि महिलाहरूलाई परम्परागत बुर्कासँग उपस्थित हुन कडा निर्देशन दिएका हुन्।

गत वर्ष अगस्तमा तालिवान सत्तामा आएपछि अफगान महिलाको अधिकारमाथि तालिवान समूहले अंकुश लगाउँदै गएको छ।

उनीहरूले १९९६ देखि २००१ को बीचमा सत्तामा आफ्नो पहिलेको भन्दा नरम शासनगर्ने प्रतिज्ञा गरे पनि बिस्तारै यसको उल्लङ्घन गर्दै गएका छन्। तालिवानको यो कदमप्रति विश्वका अधिकारवादी संघसंस्थाहरूले विरोध जनाएका छन्।

Hardik ivf

सत्तामा आएपछि उनीहरूले अफगानी महिलालाई लक्षित गरी धेरै प्रतिबन्ध लगाइसकेका छन्। उनीहरूलाई धेरै सरकारी जागिर, माध्यमिक शिक्षा र सहरबाहिर एक्लै यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।

शनिबार अफगानिस्तानका सर्वोच्च नेता तथा तालिवान प्रमुख हिबातुल्लाह अखुन्दजादाले सार्वजनिक स्थानमा हुँदा महिलाका लागि कडा ड्रेस कोड अनुमोदन गरेका हुन। उक्त उर्दीले महिलाले आफ्नो अनुहार र शरीर ढाक्ने सर्वोत्तम तरिका नीलो रङको परम्परागत अफगान बुर्का लगाउनु भएको बताइएको छ ।

अखुन्दजादाद्वारा अनुमोदित र काबुलमा आयोजित समारोहमा तालिबान अधिकारीहरूले जारी गरेको निर्देशनमा भनिएको छ, 'उनीहरूले बुर्का लगाउनु परम्परागत संस्कार र सम्मानजनक भएकोले बुर्का लगाउनु उचित हो।'

'वयस्क अवस्थाका पुरुष नातेदारहरूलाई भेट्दा उत्तेजनाबाट बच्नका लागि शरिया निर्देशनअनुसार आँखाबाहेक ती महिलाहरूले आफ्नो अनुहार छोप्नुपर्छ,' निर्देशनमा भनिएको छ।

अन्तरराष्ट्रिय समुदायका धेरै संघसंस्थाहरूले अफगानिस्तानका लागि मानवीय सहायता र तालिवान सरकारको मान्यताका लागि महिला अधिकारको पुनः स्थापनासँग सम्बन्धित नियमलाई मान्नु अनिवार्य हुने बताएका छन्।

अखुन्जादाले अनुमोदन गरेको उर्दीमा भनिएको छ, 'महिलाहरूरू आफ्नो घरबाट बाहिर निस्कने कुनै कारण छैन भने घरमा बस्नु राम्रो हो।'

आफ्नो पहिलो शासनको समय तालिबानले महिलाहरूका लागि बुर्का अनिवार्य बनाएको थियो।

तालिवान सत्तामा फर्केदेखि नै उनीहरूको सद्गुण र हिंसा रोकथामको लागि तिनीहरूको मन्त्रालयले महिलाहरूले के लगाउनुपर्छ भन्ने विषयमा धेरै ‘दिशानिर्देश’ जारी गरेको छ। तर शनिबारको आदेश महिला अधिकारमा प्रतिबन्ध लगाउने सबैभन्दा कठोर राष्ट्रिय आदेशहरूमध्ये एक भएको एक वरिष्ठ अफगान महिला अधिकारकर्मीले नाम उल्लेख नगर्ने शर्तमा बताइन्।

उनले भनिन्, 'इस्लामले महिलाका लागि कहिल्यै बुर्काको सिफारिस गरेको छैन। मेरो विचारमा तालिबान प्रगतिशील हुनुको सट्टा प्रतिगामी हुँदै गइरहेको छ। तिनीहरू आफ्नो पहिलेको शासनमा जस्तो व्यवस्था थियो त्यतैतिर गइरहेका छन्।'

अर्का महिला अधिकारकर्मी मुस्का डास्टेजरले तालिबान शासनले ‘अति धेरै क्रोध र अविश्वास’ उत्पन्न गरेको बताइन्।

'हामी टुटेका जाति हौं र हामीले बुझ्नै नसक्ने आक्रमण सहन बाध्य भएका छौं। एक व्यक्तिको हैसियतमा हामी दबावमा परिरहेका छौं।' कडा इस्लामवादीहरूले मार्चमा केटीहरूका लागि विद्यालय पुनः खोलेको केही घण्टापछि माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिंदा अन्तरराष्ट्रिय आक्रोश उत्पन्न गरेको छ।

अधिकारीहरूले केटीहरूको शिक्षा ‘इस्लामी सिद्धान्त’ अनुसार हुनुपर्छ भन्नुको अलावा प्रतिबन्धलाई कहिल्यै उचित साबित गरेका छैनन्। तालिबानका थुप्रै अधिकारीहरूका अनुसार अखुन्जादाले पनि उक्त प्रतिबन्ध जारी गरेका थिए।

महिलालाई पनि पुरुषबाट छुट्टाछुट्टै दिनमा राजधानीका पार्कहरूमा जान आदेश दिइएको छ।

केही अफगान महिलाहरूले सुरुमा स–साना प्रदर्शनहरू र विरोध प्रदर्शन गर्दै तालिवान सरकारका अधिकारविरोधी निर्णयलाई सार्वजनिक गरेपनि तालिवान सरकारको भयका कारण उनीहरूले सशक्तरूपमा प्रस्तुत हुननसककेको देखिन्छ। उनीहरूले महिलाको शिक्षा र रोजगारीको अधिकारको माग गर्दै राजधानी काबुललगायतका शहरहरूमा प्रदर्शन गरेपनि यसलाई तालिवान सरकारले उल्लेख्य महत्व नदिएको देखिन्छ।

तालिवानको भयका कारण निर्देशनपहिले नै धेरै महिलाहरूले ग्रामीण क्षेत्रमा बुर्का लगाइसकेका छन् भने पछिल्लो निर्देशनपछि शहरी क्षेत्रमा कस्तो रूपमा लिइनेछ यसको नतिजा आउन अझै केही समय लाग्नेछ।

प्रकाशित मिति: २०:०३ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्