सुर्खेतमा स्कार्पियो र मिनीबसमा आगजनी

कर्णाली, बैशाख २४ : सुर्खेतको वीरेन्द्रनगर मङ्गलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि झण्डा राखिएका दुई गाडीमाथि आगजनी गरिएको छ।
आज अपराह्न २ बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा रोकी राखेको बा१४च ६८३१ नम्बरको नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको झण्डा राखिएको स्कार्पियो गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार आगजनीबाट स्कार्पियोको पछिल्लो टायर जलेको र प्रहरीले तत्काल आगो नियन्त्रण लिँदा बाँकी क्षति हुनबाट जोगिएको छ।
यता प्रहरीले आगो नियन्त्रण गर्दैगर्दा मङ्गलगढी चोकबाट ७०० मिटर पश्चिममा रहेको तीनतोली होटल अगाडि रोकी राखेको अर्को गाडीमा अपरिचित व्यक्तिले आगो लगाएको उनले बताए।तीनतोली होटलमा रोकेको नेकपा (एमाले)को झण्डा र माइक राखेको क प्र ०२–००१ प ००६१ नम्बरको मिनीबसमा आगजनी गरिएको थियो।
प्रहरी र दमकलको सहयोगमा अपराह्न ३ बजे आगो नियन्त्रणमा लिइएको जनाउँदै प्रहरी नायब उपरीक्षक घर्तीले मिनीबसका सबै सिट जल्नुका साथै सिसा फुटेको बताए। आगजनी गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।












