श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले राजीनामा दिने सम्भावना
कोलम्बो, वैशाख २४ : श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा तयारी गर्नुभएको जनाइएको छ।देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिरिँदै गएपछि उहाँले राजनीतिक निकासका लागि पदबाट...
कोलम्बो, वैशाख २४ : श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा तयारी गर्नुभएको जनाइएको छ।
देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिरिँदै गएपछि उहाँले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लाग्नु भएको उनीनिकट श्रोतहरूले जनाएका छन्।
राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामाका लागि अत्यधिक दबाब परेको छ।
आन्दोलनकारीहरूले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन्। उनले राजीनामा नदिए आन्दोलन थप चर्किदै जाने देखेर उनले राजीनामा दिने तयारी गरेको बताइएको छ।
आन्दोलन चर्किदै गएको र सङ्कटकाल लागू भएको परिप्रेक्षमा आगामी कदमका बारेमा छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बीचमा छलफल भएको थियो।
छलफलका क्रममा प्रधानमन्त्री महेन्दा राजापाक्ष राजीनामा दिन सहमत भएको जनाइएको छ।
देशमा आर्थिक सङ्कट उत्पन्न भएपछि महङ्गी र अभाव बढेको थियो। महङ्गी र अभावबाट आक्रोशित जनताले आन्दोलन सुरु गरेका थिए। आन्दोलनपछि सरकारले त्यतिबेला पनि सङ्कटकाल लगाएको थियो।
आन्दोलनकारीहरूले सरकारलाई बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएका थिए।
प्रधानमन्त्री बाहेक सबै मन्त्री नयाँ बनाएर काम गर्दा पनि ठोस उपलब्धि नभएपछि आन्दोलन फेरि चर्किएकाले अहिले प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको हो।












