Kathmandu Press

२८ वर्षपछि हुम्ला ताजाकोटका बासिन्दाले पाए लालपुर्जा

हुम्ला, वैशाख २४ :  हुम्लाको दुर्गम बस्तीका रुपमा चिनिने ताजाकोट गाउँपालिका-३ मासपुर गाउँका स्थानीयवासीले २८ वर्षपछि लालपूर्जा पाएका छन्। २०५० फागुन १९ मा मासपुरको...
२८ वर्षपछि हुम्ला ताजाकोटका बासिन्दाले पाए लालपुर्जा

हुम्ला, वैशाख २४ :  हुम्लाको दुर्गम बस्तीका रुपमा चिनिने ताजाकोट गाउँपालिका-३ मासपुर गाउँका स्थानीयवासीले २८ वर्षपछि लालपूर्जा पाएका छन्। 

२०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपूर्जा पाएका हुन्। पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति–७ बँदेलचौरमा एक माना चामल र नुन लिएवापत जग्गाको तिरो तिर्दै आएका उनीहरुले २८ वर्षपछि भए पनि जग्गाको लालपूर्जा पाएकोमा खुसी भएको स्थानीयवासी ९२ वर्षीय दलवीर बुढाले बताए। मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपूर्जा लिन जग्गाधनी नै नआएको बताएको छ। 

अनुगमनका क्रममा ताजाकोट गाउँपालिका जाँदा स्थानीयवासीले लालपूर्जा नपाएको गुनासो गरेका थिए। तर गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीयवासी नआएका कारण पाउन नसकेको मालपोत कार्यालयले जनाएको छ। १२ घरधुरीलाई गतवर्ष चैतमै लालपूर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ।

गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपूर्जा वितरण गरिएको कार्यालयले जनाएको छ। दुई घरधुरीले सुरुमै लालपूर्जा लिइसके पनि अन्यले हालसम्म लालपूर्जा पाएका थिएनन्। 

प्रकाशित मिति: १५:०५ बजे, शनिबार, वैशाख २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्