कवि-पत्रकार तारकिणीका लागि सहयोगको अपिल
काठमाडाैं, वैशाख २४ : हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ। उनको...
काठमाडाैं, वैशाख २४ : हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ। उनको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग संकलन अभियान सुरु गरेको छ।
तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय छन्। उनको हाल काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ। यो उपचार सफल भए उनको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकको भनाइ छ।
‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै कम्तीमा १८ देखि २० लाखजति खर्च हुने चिकित्सकको भनाइ छ। शल्यक्रियापश्चात पनि वार्षिक रूपमा नियमित ‘म्यापिङ’ र अन्य थेरापीवापत थप ५०–६० हजार खर्च छुट्याइराख्नुपर्ने बताइएको छ।
तारकिणी हाल न्यूज–२४ नेपालमा कार्यरत छन्। उनकाे यसअघि नै तीनवटा साहित्यिक कृति प्रकाशित छन् भने नयाँ कविता सङ्ग्रह प्रकाशन हुने क्रममा छ।
प्रतिष्ठानले सुरु गरेको अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ। अहिलेसम्म रु चार लाख ५० हजारभन्दा बढी रकमको कबोल आएको अभियान संयोजकसमेत रहनुभएका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी दिए।
राजेन्द्रप्रसाद पन्तको नाममा ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखामा रहेको खाता नं. ०१०७०१००२४४९७ र एनआइसी एसिया बैंकको सुकेधार शाखामा रहेको खाता नं. २८८७९३१०५८५२४००१ मा सहयोग गर्न सकिने छ।
श्रवण अपाङ्गताका बाबजुद पनि साहित्य–कला र पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान दिइराख्नुभएका प्रतिभाशाली स्रष्टा तारकिणीको उपचारका लागि हातेमालो गर्ने उद्देश्यले सहयोेग सङ्कलन अभियान सञ्चालन गरिएको अध्यक्ष खड्काले जानकारी दिए।
प्रतिष्ठानले तारकिणीको उपचारका लागि हरेक क्षेत्र, तह र तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वानसमेत गरेको छ।












