Kathmandu Press

दुई महिनाको योगदान रकम योगदानकर्ताको खातामा

काठमाडाैं, वैशाख २४ : सामाजिक सुरक्षा कोषले गत जेठ र असारको योगदानबापतको रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ। रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २०...
दुई महिनाको योगदान रकम योगदानकर्ताको खातामा

काठमाडाैं, वैशाख २४ : सामाजिक सुरक्षा कोषले गत जेठ र असारको योगदानबापतको रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ। रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताका तर्फबाट जम्मा गर्नुपर्ने ११ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो। 

करिब एक लाख ३० हजार योगदानकर्ताको खातामा रकम जम्मा गरिएको कोषले जनाएको छ। चालु आर्थिक वर्षको बजेटमार्फत कोषमा योगदान गर्ने योगदानकर्ताको जेठ र असार महिनाको योगदानवापतको रकम सरकारका तर्फबाट जम्मा गर्ने घोषणा गरिएको थियो। 

कोरोना महामारीका कारण रोजगारदाता र श्रमिक प्रभावित भएको भन्दै दुई महिनाको योगदान रकम सरकारले नै व्यहोर्ने निर्णय गरेको थियो। सरकारबाट प्राप्त रु एक अर्ब छ करोड सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गरिएको छ।

Hardik ivf

कोषले बजेटमा उल्लेख गरेअनुसार योगदानकर्ताको खातामा जम्मा गर्न रु एक अर्ब ३२ करोड माग गरेको थियो। 

हाल जम्मा हुनुपर्ने योगदान रकमको ८४ प्रतिशत जम्मा गरिएको र बाँकी १६ प्रतिशत निकासा प्राप्त भएपछि जम्मा गरिने कोषले जनाएको छ।

अपुग रकम छिट्टै निकासा गरिने अर्थ मन्त्रालयबाट जानकारी आएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। पछिल्लो छ महिनामध्ये न्यूनतम रकम जम्मा भएका आधारमा योगदानकर्ताको खातामा रकम जम्मा गरिएको हो। 

यसअघि पनि सरकारले चार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो। पछिल्लो दुई वर्षको अवधिमा सरकारले दुईपटक गरेर छ महिनाको योगदान रकम योगदानकर्ताको खातामा दाखिला गरिदिएको छ। 

कोषमा हालसम्म १७ हजार ७४ रोजगारदाता र तीन लाख ३२ हजार ९५ योगदानकर्ता सूचीकृत भएका छन्। कोषमा रु १६ अर्ब ३४ करोड योगदान सङ्कलन भएको छ। कोषले विभिन्न सुविधा योजनाअन्तर्गत रु एक अर्ब १५ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ। 

जसअन्तर्गत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधावापत रु १६ करोड ७७ लाख, दुर्घटना तथा अशक्तता सुरक्षावापत रु एक करोड ५६ लाख, आश्रित परिवार सुरक्षावापत रु दुई करोड ७५ लाख र अवकाश दाबीवापत रु ९४ करोड ५६ लाख दाबी भुक्तानी गरिएको छ।

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्