रोल्पामा मतदान अधिकृतलाई तालिम
रोल्पा वैशाख २४ : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने रोल्पाका ३४५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ...
रोल्पा वैशाख २४ : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने रोल्पाका ३४५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । जिल्लाका ८१ मतदानस्थल गरी १७३ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो ।
दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम दिइएको थियो।
नमूना मतदान अभ्यास पेटिकाअनुसार मतदान केन्द्रमा पुग्नुअघि र पुगिसकेपछि गर्नुपर्ने काम, मतदातालाई भोट हाल्ने तरिका, सुरुदेखि अन्तिमसम्म मतगणना, कस्ता व्यक्तिले भोट हाल्न पाउने–नपाउने, विषयमा तालिममा जानकारी गराइएको मुख्य निर्वाचन अधिकृत दिलीपराज पन्तले बताए।
मुख्य निर्वाचन अधिकृत पन्त, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, माडी, रुन्टिगढी, त्रिवेणी गाउँपालिकाका निर्वाचन अधिकृतलगायतले तालिमको सहजीकरण गरेका थिए ।
रोल्पामा एक नगरपलिका र नौ गाउँपलिका रहेका छन् । जिल्लामा एक लाख ४५ हजार ४४४ मतदाता सङ्ख्या रहेको छ । महिला ७३ हजार ५१० र पुरुष ७१ हजार ९३५ मतदाता छन्।












