अमेरिकी र उत्तर कोरियाली राष्ट्रपतिले भियतनममा भेट्ने
काठमाडौं, माघ २३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई फागुन ९ र १० मा भियतनाममा भेट्ने भएका छन् । अमेरिक....

काठमाडौं, माघ २३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई फागुन ९ र १० मा भियतनाममा भेट्ने भएका छन् । अमेरिकी संसदको सयुक्त सभालाई राष्ट्रपतिले वार्षिक रुपमा गर्ने संवोधन (स्टेट अफ युनियन एड्रेस) का क्रममा मंगलबार ट्रम्पले यस्तो जानकारी दिएका हुन् ।
स्टेट अफ युनियन सम्बोधनका क्रममा ट्रम्पले भने, ‘कोरियाली प्रायद्वीपमा शान्तिका लागि हाम्रो ऐतिहासिक प्रयास निरन्तर छ । १५ महिना देखि आणविक परिक्षण र क्षेप्यास्त्र प्रहार गर्ने कार्य रोकिएको छ । मलाई लाग्छ यदि म अमेरिकाको राष्ट्रपति नियुक्त नभएको भए, अहिले हामी उत्तर कोरियासँग ठुलो युद्धमा हुन्थ्यौं ।’
ट्रम्पले किम जोङसँगको भेटको विषयमा पनि उक्त सम्वोधनमा खुलाए । ‘धेरै काम हुन बाँकी छ, तर किम जोङ उनसँग मेरो सम्बन्ध राम्रो छ । अध्यक्ष किम र म फेरि भियतनाममा भेट्दैछौं ।’ ट्रम्पले भने ।
सीएनएनका अनुसार भेटघाट भियतनामको राजधानी हनोइ वा दोस्रो ठुलो सहर डानाङमा गर्ने भन्ने बारेमा भने अमेरिका र उत्तर कोरियाका फरक चाहना छन् । उत्तर कोरिया हनोइमा उसको राजदूतावास भएकोले शिखर भेटघाट त्यहाँ होस् भन्ने चाहन्छ । अमेरिका भने हालसालैमात्रै एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक)को शिखर सम्मेलन भएको डानाङमा भेटघाट होस् भन्ने चाहन्छ । एपेकको शिखर सम्मेलनका बेला त्यहाँको सुरक्षा स्थितिको बारेमा जानकारी भएकोले त्यहाँ शिखर भेट होस् भन्ने अमेरिकाले चाहेको सीएनएनले जनाएको छ ।
अमेरिका र उत्तर कोरियाबीचको तनावले एसिया र विश्वकै लागि चुनौती भइरहँदा विश्वलाई नै अचम्ममा पार्दै अमेरिकी राष्ट्रपति ट्रम्प र उनका उत्तर कोरियाली समकक्षी उनबीच गत जेठमा सिंगापुरमा पहिलो शिखर भेट भएको थियो ।











