Kathmandu Press

जी ७ का नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

जी ७ का नेताहरूले युक्रेनका राष्ट्रपतिसँग छलफल गर्ने

बर्लिन, बैशाख २३ : विश्वका प्रमुख सात देशका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन्।

अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्नु भएको अधिकारीहरूले जनाएका छन्।

जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उनीहरूका बीचमा छलफल हुने शुक्रबार जानकारी दिएका छन्।

Hardik ivf

अहिले जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै बैठकको संयोजन गरेको समाचारमा जनाइएको छ।

जर्मन प्रवक्ता क्रिश्चियन होफमानले पत्रकारहरुसँग भने, 'जर्मनीका चान्सलर अलाफ सोल्जले नै बैठकको संयोजन गर्नुहुने भएको छ।'

उनका अनुसार भिडियो मार्फत हुने यस्तो बैठक यस वर्षमात्रै अहिले तेस्रो पटक हुन लागेको हो।  

दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनको रुपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको जनाइएको छ।

बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल गरी मुख्य छलफल युक्रेन सङ्कटमा केन्द्रित हुने अधिकारीहरूले जनाएका छन्।

बैठकमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशको अहिलेको अवस्था र आवश्यकताका बारेमा विश्वका प्रभावशाली ती नेताहरूलाई जानकारी दिनेछन।

जी ७ का नेताहरू युक्रेनलाई सहयोग गर्ने र रुसलाई आक्रमण अन्त्यका लागि दवाव दिने पक्षमा रहँदै आएका छन्।

जी ७ अन्तर्गत क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पर्दछन्। ती सबै देशले  पहिले देखि नै युक्रेनको पक्षमा आफ्नो मत जाहेर गरिरहेका थिए भने आ आफ्नो तर्फबाट युक्रेनलाई यसअघि पनि सहयोग गर्दै आएका थिए।

गत फेब्रुअरीको अन्त्य तिर रुसले युक्रेनमाथि आक्रमण सुरु गरेकोमा अहिलेसम्म सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्। ठूलो भौतिक क्षति पनि भएको छ।

प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्