शीतगंगामा एमालेलाई सघाउन भन्दै ‘ब्याक’ भए माओवादीका वडाध्यक्ष उम्मेदवार बेल्बासे

अर्घाखाँची, वैशाख २३ : अर्घाखाँचीको शीतगंगा नगरपालिका-१० का लागि माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार रवि बेल्बासे चुनावी प्रतिस्पर्धाबाट पछि हटेका छन्।
उनले बिहीबार एक विज्ञप्ति जारी गरेर एमालेका उम्मेदवार केशवप्रसाद बेल्बासेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी ‘फिर्ता लिएको’ बताएको छन्।
‘मिति २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको दोस्रो निर्वाचनमा देश हामिएको परिस्थितिमा हाम्रो नगरपालिका पनि चुनावी माहोल बढिरहेको छ,’ उनले विज्ञप्तिमा भनेका छन्,
‘स्थानीय तहको सरकार प्रत्यक्ष जनतासँग जवोडिएको सरकार भएकाले स्थानीय जनप्रतिनिधि छनोट गर्दा हाम्रो पार्टीको भन्दा पनि राम्रो, योग्य र कुशल जनप्रतिनिधि छनोट गर्न सकेमा जनताले प्राप्त गर्ने सेवासुविधा सरल र सहज तरिकाले प्राप्त गर्न सकिने भएकाले शीतगंगा नगरपालिका–१० को हाम्रो पार्टी नेकपा माओवादी केन्द्र वडा कमिटिीको निर्णय अनुसार यसमा नेकपा (एमाले) बाट वडाध्यक्ष पदका उम्मेदवार केशवप्रसाद बेल्बासेलाई समर्थन गर्दै मेरो वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँछु,' विज्ञप्तिमा लेखिएकाे छ।
नगरपालिका अध्यक्षमा सत्ता गठबन्धन दल र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि सो वडामा सबै दल एक्लाएक्लै भिड्ने तयारी भए पनि माओवादी केन्द्रका वडा इन्चार्चसमेत रहेका वडाध्यक्ष उम्मेदवार रविले एमाले उम्मेदवार केशवलाई सघाउने भएको जनाइएको छ।
सो वडामा माओवादी केन्द्रको प्रभाव रहे पनि ‘उम्मेदवारी फिर्ता’ले एमालेलाई फाइदा पुग्ने देखिएकाे छ।













