Kathmandu Press

हटाएनन् दलले निर्वाचन आचारसंहिता विपरीतका सामग्री

हटाएनन् दलले निर्वाचन आचारसंहिता विपरीतका सामग्री

डाेटी, बैशाख २२  यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि यहाँका राजनीतिक दलका नेता आफ्नो चुनावी अभियानलाई तीव्ररुपमा अगाडि बढाइरहेका छन्।

स्थानीय नागरिकका घरघरदेखि खेतबारीमा समेत उम्मेदवार भोट माग्न रातदिन खटिएका छन्। मत लाग्न व्यस्त यहाँका राजनीतिक दलले आफ्ना चुनाव प्रचार सामग्री पनि नागरिकका घरघरमा टाँस्नुका साथै सार्वजनिकस्थलमा पनि प्रदर्शन गरेका छन्।

Hardik ivf

उता निर्वाचन आयोगले सार्वजनिक ठाउँ, सडक, विद्युत्को खम्बा लगायतका ठाउँमा राजनीतिक दलले आफ्ना पोष्टर, पर्चा, पम्पलेट टाँसेका भए तत्काल निकाल्न निर्देशन दिएको भए पनि यहाँका प्रमुख राजनीतिक दलले त्यसको पालना नगरेको पाइएको छ। दलका पर्चा, पम्पलेट, पोस्टर तथा तोरणले यहाँका सार्वजनिक ठाउँ र सडक झिलीमिली छन्।

स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा (एमाले)ले यहाँका प्रमुख बजार दिपायल सिलगढीमा रहेका सार्वजनिक स्थानमा आफ्ना पोस्टर, पम्पलेट तथा झण्डाको तोरण बनाएर टाँगेको पाइएको छ।

प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमालेले सिलगढी बजारमा नै पार्टीबाट नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा नं ६ का वडाध्यक्ष र सदस्य पदका उम्मेदवारको तस्वीर भएको पोस्टर र चुनाव चिह्न अङ्कित झण्डाको तोरण बनाएर सडक माथि टाँगेका छन्।

स्थानीय तह निर्वाचन आचारसंहिताले सार्वजनिक स्थानमा कुनै पनि दलले पर्चा, पम्पलेट, तोरण तथा पोस्टर टाँस्ने कार्य गर्न रोक लगाएको भए पनि यहाँका ठूला दलले नै उक्त नियमको पालना गरेको पाइएको छैन ।

यसका साथै जिल्लाका विभिन्न ठाउँमा अन्य साना दलले निर्वाचन आचारसंहिता विपरीत तुल, ब्यानर, भित्ते लेखन, टिसर्ट, ज्याकेट, टोपी, झण्डा प्रचारप्रसारमा प्रयोग गरिरहेका दिपायल सिलगढी नगरपालिका–२ का डम्बरसिंह कठायतले बताए।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत टाँसिएका दलका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ। जिल्ला निर्वाचन अधिकृत विदुर काफ्लेले सबै दललाई निर्वाचन आचारसंहिता विपरीत टाँसिएका सामग्री तत्काल हटाउन निर्देशन दिइ सकिएको जानकारी दिए।

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्