Kathmandu Press

कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने

काठमाडौं, वैशाख २२ : यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन...
कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने

काठमाडौं, वैशाख २२ : यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्। 

जिल्ला सुरक्षा समितिले यहाँका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ।

Hardik ivf

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निर्वाचन शान्तिपूर्ण वातारणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको सुरक्षा कायम गर्न तयार रहेको बताए। ‘मतदानस्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिन्छन्,’ उनले भने, ‘त्यो भन्दा बाहिर र चोकमा सशस्त्र प्रहरीले गस्तीलगायत सुरक्षा निगरानी बढाउनेछ।’

उनले सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहने जानकारी दिनुभयो । निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि यहाँका नौवटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन्।

प्रजिअ पाण्डेका अनुसार कञ्चनपुरका नौवटै पालिकामा गरेर दुई हजार ८०० देखि तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी निर्वाचनमा खटिने छन्। प्रमुख जिल्लाअधिकारीसहित सुरक्षा प्रमुखले बिहीबार यहाँको दक्षिण क्षेत्रमा रहेको मतदान केन्द्र र स्थलको अनुगमन गर्ने कार्यक्रम छ।

त्यसैगरी केही दिनअघि जिल्ला प्रशासन कार्यालयले इण्डो नेपाल समन्वयात्मक बैठक गरेर निर्वाचनको ४८ घण्टाअघि नेपाल–भारत सीमा बन्द गर्न भारतीय पक्षसँग समन्वय गरिसकेको छ। भारतीय पक्षबाट पनि नेपालको स्थानीय तहको निर्वाचनका बेला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नमा सहयोग रहने जनाएको छ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि कञ्चनपुरमा ३४१ मतदान केन्द्र तोकेको छ । जिल्लामा मतदाताको कूल सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिने भएको छ । यहाँ निर्वाचनका लागि ३४१ मतदान र सहायक मतदान अधिकृतलाई महेन्द्रनगरमा शुक्रबार र शनिबार दुई चरणमा तालिम दिने जनाएको छ।

त्यसैगरी कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँ आएको मतपत्रहरु मिलाउने काम भइरहेको बताए। ‘तीन लाख १४ हजार मतपत्र आएको थियो, तीमध्ये तीन लाख जति मिलाइसक्यौँ,’ उनले भने, ‘मतदान अधिकृत पनि जिल्लाभरि खटाउने गृहकार्य भइरहेको छ ।’ निर्वाचन सम्पन्न गर्न यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन्।

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्