विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार घोषणा
काठमाडौं, वैशाख २१ : राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार विभिन्न व्यक्तिलाई प्रदान गर्ने...
काठमाडौं, वैशाख २१ : राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार विभिन्न व्यक्तिलाई प्रदान गर्ने निर्णय गरेको छ। आयोगको १५औँ वार्षिकोत्सवका अवसरमा आज ती पुरस्कारको घोषणा गरिएको हो।
यस वर्षको विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७९ बाट दुर्गा आचार्य (जलजला गाउँपालिका–७, पर्वत), कैलाश माझी (सप्तकोशी नगरपालिका ११, सप्तरी), उमिद बागचन्द (धनगढी उपमहानगरपालिका १, कैलाली) र मनोज रौनियार (वीरगञ्ज महानगरपालिका–८, पर्सा) पुरस्कृत भएको आयोगले जनाएको छ।
यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९ बाट सत्यनारायण हुजदार (चौदण्डीगढी नगरपालिका, उदयपुर), गोकर्णराज वाग्ले (व्यास नगरपालिका, तनहुँ), दुर्गाप्रसाद शर्मा (जिल्ला समन्वय समिति, बाग्लुङ), निर्मल लामा (कमलामाई नगरपालिका, सिन्धुली) र राजु अर्याल (यातायात व्यवस्था सेवा कार्यालय, हेटौँडा) रहेका छन्। उत्कृष्ट कर्मचारी पुरस्कारबाट विश्वबन्धु पौडेल (उपसचिव), डिल्लीराम भट्ट (शाखा अधिकृत) र हेमन्त रिज्याल (नायब सुब्बा) ले प्राप्त गरेका छन्।
आयोगको स्थापना दिवस बिहीबार वैशाख २२ गते एक समारोहको आयोजना गरी ती पुरस्कार प्रदान गरिने आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले जानकारी दिए।
आयोगको स्थापना दिवसका अवसरमा सूचनाको हकमा कार्यरत संस्था, आमसञ्चारका माध्यम तथा सबैमा सूचनाको हकसम्बन्धी संवद्र्धन र संरक्षण हुने कार्यक्रम आयोजना, प्रचारप्रसार, प्रकाशन तथा प्रसारण एंव परिसम्वाद जस्ता कार्यक्रम गरी सूचनाको हकको प्रचलनमा सघाउ पुर्याउन आयोगले आग्रह गरेको छ।












