बढे विदेशी पर्यटक
काठमाडाैं, वैशाख १९ : कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ। पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बनेको छ भने पर्यटकीय...
काठमाडाैं, वैशाख १९ : कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ। पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन्।
यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो। सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो। अप्रिल महिनामा ५२ हजार ६६३ बाहिरिएका छन्। सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० पर्यटकले नेपाल भ्रमण गरेका थिए।
सन् २०१९ को तुलनामा पर्यटक आगमनदर आधाभन्दा बढीको अवस्थामा आइपुगेको बोर्डको विश्लेषण छ। गत वर्षकोभन्दा पर्यटक वृद्धिदर यो वर्ष १६० प्रतिशतले वृद्धि भएको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो। उक्त वर्षको अप्रिल महिनामा एक लाख ९ हजार २९९ पर्यटक आएका थिए। “यो वर्ष पर्यटक आगमनदर निरन्तर बढिरहेको छ।
'पर्यटक वृद्धिदर हेर्ने हो भने अप्रिलसम्म ५३ प्रतिशतमा आइसकियो। अघिल्लो महिना ४५ प्रतिशत वृद्धिदर थियो,' लामिछानेले भने।
अघिल्लो मार्च महिनामा कूल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए। जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।
बोर्डको अन्तर्राष्ट्रिय स्रोत बजारमा रणनीतिक बजारीकरण तथा व्यवसायीको कडा मेहनत र लगनशीलताका कारण पर्यटक आवागमन निरन्तर बढिरहेको निर्देशक लामिछानेले बताए।











