Kathmandu Press

‘जनयुद्ध लडेर आएकी थिएँ, उपाध्यक्षको टिकट पाउन पनि युद्धै लड्नुपर्‍याे’ 

पालिका इन्चार्ज रहेकी लक्ष्मीकन्या बुढा, यसअघिका गाउँ कमिटी इन्चार्ज प्रेम रोकाया, हाल गाउँपालिका उपाध्यक्ष रहेकी हिमाली रोकाया लगायतको ग्रान्ड डिजाइनमा आफ्नो उम्मेदवारी रद्द गर्न खोजिएको भए पनि त्यो सफल हुन नसकेको उनले बताइन्। 
‘जनयुद्ध लडेर आएकी थिएँ, उपाध्यक्षको टिकट पाउन पनि युद्धै लड्नुपर्‍याे’ 

काठमाडौं, वैशाख १९ : आसन्न स्थानीय तहको निर्वाचनमा जुम्लाको हिमा गाउँपालिकाको उपाध्यक्षका लागि कल्पना दमाईले टिकट पाएकी छन्। माओवादी केन्द्रको गाउँपालिका कमिटीले टिकट दिए पनि उनले पार्टीका प्रभावशाली नेताको चलखेलसँग संघर्ष गर्नुपर्‍याे। 

स्थानीय तहको निर्वाचन नजिकिएसँगै उपाध्यक्षका लागि कल्पनाको नाम लिने धेरै थिए। सोही अनुसार, पालिका कमिटीले वडाहरुको सिफारिसका आधारमा कल्पनाको नाम पहिलो नम्बरमा राखेर जिल्ला कमिटीलाई सिफारिस गरेको पार्टीका हिमा गाउँपालिका कमिटी अध्यक्ष अग्रबहादुर शाही बताउँछन्। 

सोही गाउँपालिकाको उपाध्यक्षका लागि सिफारिस सूचीको दोस्रो नम्बरमा थिइन्, बिनाशा रोकाया। रोकाया प्रदेश पूर्वमन्त्री समेत रहेका कर्णाली प्रदेश सांसद नरेश भण्डारीकी नातेदार हुन्। स्थानीय स्तरमा राजनीतिक प्रभाव नभए पनि नरेश भण्डारीकै दबाबमा बिनाशालाई सिफारिसको सूचीमा राखिएको स्थानीय नेता बताउँछन्। ‘कल्पनालाई टिकट दिन पालिका कमिटीले सिफारिस गरेपछि प्रदेश सांसद नरेश भण्डारी र पालकिा इन्चार्ज लक्ष्मीकन्या बुढाले टिकट रद्द गराउन भरमग्दुर प्रयास गरे,’ गाउँपालिका कमिटी अध्यक्ष शाही भन्छन्, ‘कल्पनाको उम्मेदवारी रद्द गराउने प्रयास भएपछि पालिका कमिटीले नै कल्पनाको नाम उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएको थियो।’ 

Hardik ivf

कल्पनाको मनोनयन दर्ता भएपछि बिनाशा रोकायाले पनि नरेश भण्डारीमार्फत टिकट ल्याएर सोही पदमा मनोनयन दर्ता गराउन खोजिन्। तर निर्वाचन कार्यालयले एउटै पार्टीबाट एउटै पदमा दुई उम्मेदवार नहुने भएकाले रोकायाको मनोनयन दर्ता गर्न मानेन। पालिका कमिटीमा उपाध्यक्ष समेत रहेकी बिनाशा रोकायाले कल्पनाविरुद्ध उजुुरी हालिन्। उजुरीपछि वैशाख १४ गते गाउँपालिकामा छलफल बोलाइयो। 

‘म छलफलका लागि जाँदा मविरुद्ध जातीय गालीगलौजसहित नाराबाजी र ढुंगामुढा गरियो,’ कल्पना भन्छिन्, ‘नरेश भण्डारीसहित लक्ष्मीकन्या बुढाको डिजाइनमा स्थानीय युवालाई मदिरा सेवन गराएर मविरुद्ध आक्रमण गर्न पठाएका थिए। मदिरा सेवन गरी आएका युवाहरुको आक्रमणमा परी ६/७ जना घाइते भएका छन्।’

आक्रमणबाट स्थानीय छत्रबहादुर अधिकारी गम्भीर घाइते भए, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ। 

आफ्नो टिकट रद्द गराउन पार्टीभित्रकै हर्ताकर्ता व्यक्तिले नकारात्मक भूमिका खेलेकामा कल्पना दुःखी छन्। ‘हामीले नेता मानेका व्यक्ति नै जातीय गालीगलौजमा उत्रिनुभयो, मलाई डुम भन्नुभयो, डुमलाई टिकट दिन हुन्न भन्नुभयो,’ उनले भनिन्, ‘यसले मलाई पीडा त दिएको छ, त्योभन्दा बढी हिम्मत दिएको छ।’ 

दलित महिलाको अस्तित्व र नेतृत्व स्वीकार गर्न नसक्ने नरेश भण्डारी प्रवृत्तिका व्यक्तिकै कारण आज पार्टीभित्र रहेका इमानदार कार्यकर्ताले उचित स्थान पाउन नसकेको उनी बताउँछिन्। 

‘हामीले अडान लियौँ’ : कमिटी अध्यक्ष शाही

जुम्लाको हिमा गाउँपालिका–१ की कल्पना दमाई ०५८ सालदेखि माओवादी जनयुद्धमा लागेकी थिइन्। जनयुद्धमा लागेपछि एक वर्ष भूमिगत भएर पार्टीको काम गरिन्। मुलुक शान्ति प्रक्रियामा गएपछि उनी स्थानीय स्तरमा संगठन निर्माण र पार्टीलाई मजबुद बनाउन अहोरात्र खटिइन्। 

०६४ देखि विभिन्न व्यक्तिलाई जिताएर जिल्ला र केन्द्रसम्म पु¥याउन कल्पनाको भूमिका महत्वपूर्ण रह्यो। ‘अहिले म नेतृत्वमा जाने तयारी गरिरहँदा भने आफैँले जिताएर पठाएका व्यक्ति मविरुद्ध लागे,’ उनी भन्छिन्, ‘व्यवस्था परिवर्तन गर्न जनयुद्ध लडेँ, अहिले गाउँपालिका उपाध्यक्षको टिकट पाउन आफ्नै पार्टीका मानिससँग लडाइँ नै लड्नुपर्‍याे।’ 

पालिका इन्चार्ज रहेकी लक्ष्मीकन्या बुढा, यसअघिका गाउँ कमिटी इन्चार्ज प्रेम रोकाया, हाल गाउँपालिका उपाध्यक्ष रहेकी हिमाली रोकाया लगायतको ग्रान्ड डिजाइनमा आफ्नो उम्मेदवारी रद्द गर्न खोजिएको भए पनि त्यो सफल हुन नसकेको उनले बताइन्। 

१४ गतेको आक्रमणपछि गाउँपालिका कमिटीको बैठकले कल्पनालाई नै पार्टीको आधिकारिक उम्मेदवार बनायो। ‘जिल्ला कमिटीदेखि प्रदेशसम्मबाट विनाशालाई टिकट दिन दबाब आएको थियो, तर हामीले हार्ने मान्छेलाई टिकट दिन हुन्न भन्ने अडान लिएपछि कल्पनालाई नै पार्टीको उम्मेदवार बनाउन सफल भएका छौँ,’ पालिका कमिटी अध्यक्ष शाहीले काठमाडौं प्रेससँग भने। 

गाउँपालिका कमिटीले अडान लिएकै कारण स्थानीय तह निर्वाचनका लागि कल्पना दमाईले उपाध्यक्षको टिकट पाएकी छन्। ‘म पालिका कमिटी र अध्यक्ष शाहीलाई धन्यवाद दिन्छु,’ कल्पना भन्छिन्, ‘पार्टीभित्र असल मान्छे पनि छन्।’ 

टिकट पाए पनि घेराबन्दी निरन्तर

टिकट पाए पनि आफूविरुद्ध घेराबन्दी अझै नसकिएको कल्पना बताउँछिन्। नरेश भण्डारी समूहले बागी उम्मेदवार खडा गरेर पार्टी र आफूलाई कमजोर बनाउने प्रयत्न अझै गरिरहेको कल्पनाको भनाइ छ। ‘आधिकारिक टिकट नपाएपछि नरेश भण्डारीको आदेशमा बिनाशा रोकाया र हालकी गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाका श्रीमान् विकास रोकायाले स्वतन्त्र उम्मेदवारी दिएका छन्,’ कल्पना भन्छिन्, ‘यति धेरै विवादित व्यक्तिले मत पाउने सम्भावना त म देख्दिनँ, तर केन्द्रीय स्तरका नेता पार्टीविरुद्ध लाग्न कुन नैतिकताले दिन्छ ? यो भविष्यले देखाउँछ।’ 

हिमालाई नमुना गाउँपालिका बनाउने याेजना

पार्टीको आधिकारिक उम्मेदवार बनेपछि कल्पना चुनावी अभियानमा छन्। ‘स्थानीयका आधारभूत समस्या र आवश्यकता बारे जानकार छु, उहाँहरुको समस्या समाधानका लागि सधैँ मैदानमै रहेर काम गर्दै आइरहेकी छु,’ उनले भनिन्, ‘मलाई स्थानीयले माया गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु। हिजो आवाज उठाउने ठाउँमा हुँदा आफूले सकेको गरेँ, अब कार्यान्वयन गर्ने ठाउँमा भएँ भने त्यो भन्दा बढी गर्नेछु।’ 

आफू निर्वाचित भए हिमालाई नमुना गाउँपालिका बनाउने उनको योजना छ। यसअघिको स्थानीय तहले सुरुवात गरका राम्रा कामलाई निरन्तरता दिने र शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार, कृषि क्षेत्रमा थप सुधारका लागि नीति बनाएर अगाडि बढ्ने उनी बताउँछिन्। 

‘स्थानीय तहमै रोजगारी सिर्जना गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने तथा गरिब, महिला, दलित लगायत उत्पीडित वर्गको जीवनस्तर उकास्न सीपमूलक तालिमदेखि उत्पादनसँग जोड्ने योजना बनाएर अगाडि बढ्ने मेरो योजना छ,’ उनले भनिन्, ‘गाउँपालिकाभित्रै उच्चशिक्षाको व्यवस्था गर्ने, हरेक बालबालिका विद्यालय जाने वातावरण बनाउने, शिक्षाको उज्यालोबाट कसैलाई वञ्चित नगर्ने, गरिब परिवारका छात्रछात्रालाई छात्रवृत्ति दिने, लगायत विषयलाई पनि प्राथमिकतामा राखेर काम गर्नेछु।’

आफू विजयी भए गाउँपालिकाभित्र खाद्य तथा नगदेबालीको खेती गर्न किसानलाई विशेष प्रोत्साहन गरिने उनले बताइन्। ‘कृषि स्रोत केन्द्र पालिकाभित्र ल्याउने र स्याउ, सिमी लगायत रैथाने बालीको व्यवस्थापन गर्नेछौँ,’ उनले भनिन्, ‘उत्पादनको बजारीकरणका लागि गाउँपालिकाले सहजीकरण गर्नेछ। कृषि अनुदानसँगै पशुपालनका लागि विशेष व्यवस्था गरिनेछ।’

त्यस्तै, स्थानीयलाई आधारभूत स्वास्थ्य सुविधा दिने, गाउँपालिकाभित्रका सडकको स्तरोन्नति गर्ने, वडाका सडकहरुलाई कर्णाली राजमार्गसँग जोड्ने उनको योजना छ। केन्द्रबाट आउने बजेट र गाउँपालिकाको आम्दानीलाई दुरुपयोग हुन नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्। 
 

प्रकाशित मिति: १४:३३ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्