ओम आदि फाउन्डेसनद्वारा दुई पालिकालाई एम्बुलेन्स
काठमाडाैं, वैशाख १८ : ओम आदि फाउन्डेसनले झापाको कमल गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। बालयोगी गुरु आदित्यको...
काठमाडाैं, वैशाख १८ : ओम आदि फाउन्डेसनले झापाको कमल गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।
बालयोगी गुरु आदित्यको सदिच्छाबमोजिम सेवामूलक काम गर्न गत वर्ष वैशाखको कोरोना सङ्क्रमण तीव्र भएदेखि आदित्य जनहित कल्याण कोष स्थापना भएको थियो। कोषले यस वर्ष दुई एम्बुलेन्स हस्तान्तरण गरेको फाउन्डेसनका महासचिव भोलानाथ रेग्मीले राससलाई जानकारी दिए।
कोषमा बालयोगी आदित्यका शिष्यले इच्छाबमोजिम सहयोग जम्मा गर्ने व्यवस्था मिलाइएको छ। शिष्यलाई पनि कोषमा सहयोग जम्मा गर्न कर गरिएको छैन।
इच्छा लाग्नेले जम्मा गर्नसक्ने व्यवस्था मिलाइएको उहाँले सुनाउनुभयो। त्यही रकमबाट देशको पूर्व र पश्चिमका दुई दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
फाउन्डेशनले गत वर्ष वैशाखमा कोरोना तीव्ररुपमा फैलिएका बेला देशका विभिन्न जिल्लामा औषधि, अक्सिजनसहित खाद्यान्न सहयोग गरेको थियो।
कोरोना सङ्क्रमण उच्च भएर मानिस छटपटाउन थालेपछि बाल गुरु आदित्यको इच्छाबमोजिम कोष स्थापना गरेर स्वेच्छिकरुपमा जम्मा भएको सहयोगबाट सेवा गरिँदै आएको जनाइएको छ।












