मकवानपुरमा १३५ उम्मेदवारी फिर्ता
मकवानपुर, वैशाख ३० : यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट १३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय...
मकवानपुर, वैशाख ३० : यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट १३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार जिल्लाका १० स्थानीय तहमा दुई हजार ६७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो। तीमध्ये १३५ जनाले उम्मेदवारी फिर्ता लिएको सो कार्यालयले जनाएको छ। उम्मेवारी फिर्ता लिएका कारणले जिल्लामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्य गरी कूल एक हजार ९३२ को उम्मेदवारी कायम रहेको छ।
उम्मेदवारी फिर्ता लिनेमा हेटौँडा उपमहानगरपालिकामा ४९, थाहा नगरपालिकामा १५, बकैया गाउँपालिकामा १८, इन्द्रसरोवरमा आठ, बागमती पाँच, भीमफेदीमा एक, मकवानपुरगढीमा १३ र राक्सिराग गाउँपालिकामा चार जना विभिन्न पदका उम्मेदवार छन्।
जिल्लामा दुई लाख ९४ हजार ९१९ जनाले मतदाता रहेको सो कार्यालयले जनाएको छ। जिल्लामा स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २० तथा १०२ वडाका वडाध्यक्ष र सदस्य पदमा ५२० गरी कूल ५३० पदको मतदान हुने बताइएको छ।
यसअघि विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल मतदाता सङ्ख्या दुई लाख २७ हजार ७५९ रहेको थियो। जिल्लामा १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र रहेको बताइएको छ।












