रुपन्देहीमा ११३ को उम्मेदवारी फिर्ता
रुपन्देही, वैशाख १७ : आसन्न स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा मनोनयन दर्ता गराएका ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आइतबार र सोमबार मनोनयन...
रुपन्देही, वैशाख १७ : आसन्न स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा मनोनयन दर्ता गराएका ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपािलकाबाट २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। चार प्रमुख, चार उपप्रमुख र १९ वडाध्यक्ष तथा सदस्य पदमा मनोनयन गराएकाले उम्मेदवारी फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए।
ओमसतिया गाउँपालिकाबाट तीन अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। कञ्चनबाट तीन, कोटहीमाई पाँच, गैडहवाबाट दुई, तिलोत्तमाबाट नौ र देवदहबाट १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मायादेवी र रोहिणीमा एक–एक, लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुई, शुद्धोधनमा छ, सियारीमा छ, सैनामैनामा चार जनाले उम्मेदावरी फिर्ता लिएका छन्। सिद्धार्थनगरमा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
सत्तारुढ गठबन्धनले अन्तिम समयमा आएर तालमेल गरेपछि नगरप्रमुखबाट एक, उपप्रमुखबाट दुई र सदस्यबाट तीनले उम्मेदवारी फिर्ता लिएका छन्। सम्मरीमाईको अध्यक्ष पदमा उम्मेदवारी दिएका तीन स्वतन्त्र गरी चार जनाले उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता गराउनेमध्ये अधिकांश गठबन्धन र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन्। जिल्लाका १६ पालिकामध्ये मर्चवारीबाट कसैले उम्मेदवारी फिर्ता गरेका छैनन्।












