धर्मगुरुहरूलाई धर्मशास्त्र सम्झाउने बहुआयामिक महाकाव्य ‘अग्नि’
इतिहास खोज्नेलाई इतिहास, समाज खोज्नेलाई समाजशास्त्र, धर्म खोज्नेलाई धर्मशास्त्र, जातीय विभेद विरुद्ध अभियान सञ्चालन गर्नेहरूलाई विभेद कुप्रथा हो भन्ने ऐतिहासिक दस्तावेज, संस्कृति र सभ्यताको खोजी गर्नेहरूलाई संस्कृति, राज्य सञ्चालन गर्नेलाई राजनीतिक चेतना लगायतका विविध विषयवस्तु यसमा समाविष्ट छन्।
डा. नवराज लम्सालद्वारा लिखित महाकाव्य ‘अग्नि’ चेतनालाई एक स्तरबाट अर्को स्तरमा निकास दिन सफल कृतिमध्येको एक पठनीय कृति हो भन्दा अतिशयोक्ति हुँदैन।
इतिहास खोज्नेलाई इतिहास, समाज खोज्नेलाई समाजशास्त्र, धर्म खोज्नेलाई धर्मशास्त्र, जातीय विभेद विरुद्ध अभियान सञ्चालन गर्नेहरूलाई विभेद कुप्रथा हो भन्ने ऐतिहासिक दस्तावेज, संस्कृति र सभ्यताको खोजी गर्नेहरूलाई संस्कृति, राज्य सञ्चालन गर्नेलाई राजनीतिक चेतना लगायतका विविध विषयवस्तु यसमा समाविष्ट छन्।
मानवीय शरीरमा वर्णन गरिएका मूलाधारदेखि सहस्रारसम्मका चक्र दृश्य रूपमा नदेखिए पनि चेतनाको स्तरले कुन मान्छेको चेतना कुन स्तरको छ वा उसको सोच यो चक्रसम्म पुगेको छ भनेर छुट्टाउन सकिन्छ। हामी प्रायःको सोच मूलाधार चक्रको वरिपरि घुमिरहेको अवस्थामा यो सहस्रार चक्रको छेउछाउलाई छोएर आएको कृतिलाई आत्मसात गर्न सहज छैन। चक्रकै नाममा महाकाव्यलाई खण्डीकरण गरिएको छ।
मृगाः मृगैः संगमनुव्रजन्ति
गावश्च गोभिस्तुरगास्तुरंगैः।
मूर्खाश्च मूर्खैः सुधियाः सुधीभिः
समानशीलव्यसनेषु सौख्यम्।।
मृगलाई मृगको, गाईलाई गाईको, घोडालाई घोडाको, बुद्धिहीनलाई बुद्धिहीनको, बुद्धिजीवीलाई बुद्धिजीवीको साथ मन पर्छ। समान सोच विचार भएकाको संगत सुखदायी हुन्छ। सँगै कुममा कुम मिलाएर हिँडे पनि यदि विचारमा एकता छैन भने ‘कम्पनी विदआउट हार्मोनी’ व्यर्थ हो।
थिचिएको समाजलाई मिलेर बसेको भनेर प्रचार गरिए पनि त्यसमा सत्यता छैन भन्ने कुरा यो कृति पढेपछि प्रस्ट हुन्छ। दलित समुदायले भोग्दै आएको चरम अमानवीय यातना, आर्थिक, सामाजिक, भौतिक र मानसिक हिंसालाई महाकाव्यमा दर्शाइएको छ। यसमा समस्याभन्दा पनि समाधानको मार्ग देखाइएको छ। वर्तमान समयमा आर्थिक, प्रशासनिक, राजनीतिक क्षेत्रमा सफलता पाएर पनि दलित समुदायलाई अछूत जातबाट बाहिर निकाल्न धार्मिक क्षेत्रले सहयोग गर्नुपर्ने, त्यसमा कथित पण्डित धर्मगुरुको विशेष कर्तव्य हुनुपर्छ भन्ने विम्ब महाकाव्यकारले देखाएको छ।
मझिनी मत्स्यगन्धाका पुत्र वेदव्यास नै चार वेद १८ पुराणका आधिकारिक प्रणेता हुन्। वैदिक मान्यता अनुसार उनी स्वयं ब्रह्मा, विष्णु र महेश्वरका प्रतिनिधि पात्र हुन्। के आज देवघाटका गुरुकुलहरूमा कुनै माझीको छोरालाई राखेर वेद पढाइएको छ ? जुन समुदायले सयौं वर्षसम्म सामान्य शिक्षा पढ्न पाएन, झन् वेद पुराण पढ्न त सपनामा पनि सोचेन। वेद पढ्न हुँदैन भनेर समाजले सिकाउँदा दलितले चुपचाप स्वीकार गरे। तर उनीहरुलाई पढ्न आएन भनेर कुतर्क गर्दै आफ्नो विभेदकारी सोचलाई पृष्ठपोषण गर्नेले आजसम्म कति दलित वा जनजातिलाई शंकराचार्य वा रामानुजाचार्यको मार्गमा ल्याए ? रामानुजाचार्यले तत्कालीन समयमा सबैलाई मन्त्र सुनाएर क्रान्ति गरेका थिए, उनी छुवाछूत विरोधी थिए, समत्ववादी थिए।
शंकराचार्यले ‘न मे जातिभेदः’ भनेर जातीय विभेद म गर्दिनँ भन्छन्। श्रील प्रभुपादले विश्वभर रहेका काला गोरालाई वेद पुराण गीता पढाए। नेपालका धर्मगुरुले आजसम्म कति दलितलाई गायत्री मन्त्र सुनाए ? व्रतबन्ध गराए ? आज नासामा रिसर्च भइरहेको वैदिक संस्कृति संस्कृत भाषा कति दलितलाई पढाइयो ? यो सबै थिचोमिचो गरेको मान्छेलाई पशुसरह जीवन बाँच्न बाध्य बनाउने काम तत्कालीन राज्यबाटै भयो र राज्य अप्रत्यक्ष रूपमा धोती, टीका, चन्दन र भगवानको व्यापार गर्न तल्लीन भित्रबाट पापी तर बाहिरी आवरण धार्मिक बनाएर समाजको शोषण गर्नेहरूको परामर्शमा चल्यो।
कसलाई भनु सज्जनै हो दिलले कसलाई चोरै भनूँ ?
लुट्ने हुन् सब नै फरक तर अहो धेरै र थोरै भनूँ।
चर्चा हुन्छ चरित्रको जगतमा सीता छ को राम छ ?
योगी निर्जनमा गई तप बस्यो ढोंगीको नै धाम छ।
तर त्यही धोती, टीका, चन्दन लगाउने ज्ञानीलाई पन्छाइयो। ज्ञानीहरू कतै कुनामा थन्किएर बसेका छन् तर ढोंगी आडम्बरीलाई धर्मको बागडोर सम्हाल्ने काम दिएकाले पनि होला समाजमा धर्म ह्रास हुँदै गयो। हिजो देशका लागि योगदान गर्ने बिसे नगर्ची, जसवीर कामीहरुको सही कदर भएको पाइँदैन।
समाजले काले राईलाई स्वामी प्रपन्नाचार्य बनाएर गुरुका रूपमा स्वीकार गर्यो। थापा थरका योगी नरहरिनाथलाई राष्ट्रगुरुको उपाधि दियो, जगमान गुरुङ आज ससम्मान प्रवचन गर्दै हिँड्छन्। तर, आजभन्दा लगभग सय वर्ष पहिला बनारसमा बसेर संस्कृतमा आचार्य गरेका बाग्लुङका पण्डित भगत सर्वजित विश्वकर्मालाई विश्वकर्मा भएर पनि शंख घन्टा बजायो, आफ्नो छोराको न्वारन ग¥यो भनेर सामाजिक यातना दिने काम भयो। उनको ज्ञानलाई स्वीकार गरिएन।
त्यतिबेला भगत सर्वजितलाई वेद पुराणको अधिकार दिएको भए आज दलित समुदायप्रतिको विभेदकारी सोच यतिविधि फल्न फुल्न पाउने थिएन। जयस्थिति मल्लका पालादेखि जातका आधारमा कानुन बनाएर लादेपछि समाजमा तह तहगत रूपमा जातीय विभेद बढ्दै गयो।
जातीय मात्र होइन, लैंगिक, वर्गीय, भौगोलिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक लगायतका अनेक विभेदले आज समाजमा जरा गाडेर बसेका छन्। ती विभेदमध्ये जातीय विभेद सबै विभेदको मूल हो र विभेद हटाउन धार्मिक क्षेत्रमा व्यापक सुधार ल्याउनुपर्छ। धर्मगुरुहरूले पण्डितहरूले एकपटक मानवताको कक्षा पढ्नैपर्छ कि पर्दैन ? श्रम चल्ने सीप चल्ने तर पानी नचल्ने ? बनमाराले बन खाए झैं गीताको दर्शनलाई कर्मकाण्डले ओझेलमा पारिदिएको छ। कर्मकाण्ड पूजा नराम्रो होइन, यसको सम्बन्ध ईश्वरीय चेतनासँग छ। तर गराउनेहरूको विचार मलीन देखियो भावना संवेदनाविहीन देखियो, मुखमा राम बगलीमा छुरा देखियो। समाजमा भएका सबै नागरिकलाई सँगै राखेर पढाउन नसक्नेलाई पनि गुरुको पदवी दिन मिल्छ ? कुन शास्त्रले कथित दलितलाई कथित उच्च जातलाई जन्मजात शुद्ध घोषणा गरेको छ ? आफ्नै समाजमा अमानवीय व्यवहार किन ?
कविसँग महाकाव्यका प्रमुख पात्र छेलाङी विश्वकर्माले गरेका प्रश्न गहकिला छन्। उनका पुर्खा जेठी तरबार बनाउने ठूले कामी पृथ्वीनारायणका समकालीन थिए। उनले आफ्ना पितृलाई तर्पण गर्न नपाएको गुनासो गरेका छन्। भगवानको मूर्ति बनाउनेले नै मन्दिरमा पस्न नपाउनु के न्याय हो ? भनेर सोधेका छन्। उनका हरेक प्रश्नले भावुक बनाउँछन्।
शास्त्र भन्छ ‘आत्मवत् सर्वभूतेषु यः पश्यति स पण्डितः (सबैलाई आफू जस्तै सोच्ने मान्छे पण्डित हो।)
‘उदारचरितानां तु बसुधैव कुटुम्बकम्’ उदार चरित्र भएकाले संसारलाई नै कुटुम्ब देख्छ के दलित समुदायका लागि गाउँ यौटा कुटुम्ब जस्तो छ त ?
गीतामा श्रीकृष्ण भन्छन्– ‘चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः’
वर्णको व्यवस्था गुण र कर्मको आधारमा गरिएको छ तर समाजमा केका आधारमा कसैलाई जन्मजात शुद्ध र उपल्लो त कसैलाई जन्मजात अशुद्ध र तल्लो घोषणा गरेको ?
यी प्रश्नहरूको उत्तर एउटै छ। कान समाएर हामीले गरेको अभ्यास गलत हो भनेर क्षमा माग्नु र सामाजिक सुधारको कार्यमा अब लाग्छु भनेर प्रण गर्नु नै यी प्रश्नको उत्तरको प्रारम्भिक सीमा हो।
जसले बनायो हतियार धार
त्यै धार कुल्ची उसमै प्रहार।
दागा धरे झैं किन तुच्छ बोली
बसूँ म आफू कसरी नबोली।।
धर्मगुरुहरूलाई सोध्नु कि
तल्लो जात भनिएकाले बनाएका औजार कथित उच्च जातलाई चल्छ, दैनिक जीवनमा र पूजाआजामा। संस्कृति होस या संस्कार कहाँ छैन दलित समुदायको योगदान ? आज दलितका मुद्दाको व्यापार गरिरहेकालाई छेलाङीले भनेका छन्– ‘हामीलाई बदल्न आउनुभएको हो भने हामीसँगै मिसिन जरुरी छ, हामीलाई लेख्न आउनुभएको हो भने हामीलाई पढ्न जरुरी छ, तर हाम्रो नाममा तपाईं बदलिने खेल हो भने भो पुग्यो परै बस्नोस्, अब थप बेचिन्न महोदय !’
अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्।
परोपकार पुण्याय पापाय परपीडनम्।।
श्रीमद्भागवतमहापुराणमा व्यास लेख्छन्
परोपकार पुण्य हो अरुलाई दुख दिनु पाप हो।
अब कसैलाई जन्मजात अछूत भनेर अलग्ग्याएर तर्काएर पन्छाएर उसलाई सामाजिक सम्मानबाट पर राखेर आर्थिक, मानसिक, सामाजिक, शारीरिक शोषण गर्नु पाप होइन ? खोइ त धर्मगुरुहरूले एकादशीका सत्संगमा जातीय विभेद गर्नुहुन्न भनेर सिकाएको ?
जुत्ता सिएको कपडा सिएको
थिची खलाँती पसिना पिएको।
गल्ती भयो के भन भद्र मान्छे
सगर्व आफ्नै श्रमले जिएको।।
०००
शिल्पीहरू हौं श्रमले अभिन्न
थरीथरी छौं थर गोत्र भिन्न।
क्षमा रहोस् धैर्य गरेर सुन्नुस्
दुर्वाच्य बोली अब बोल्न दिन्न।।
महाकाव्यका पाना जति जति पल्टायो उति उति कुराहरू खेल्न थाल्छन् इतिहास आएर पौंठाजोरी खेल्न थालिहाल्छ।
यात्रा यताको कहिले उताको
हुँ वीर सन्तान उनै पिताको।
म प्वाक्क बोलूँ शुभ शब्द आओस्
विभेद सप्पै यो गलेर जाओस्।।
प्राचीन गुरुकुलमा विभेद गरेको पाइँदैन विभेद गर्नेहरू कालान्तरमा दण्डित भएका छन्। जस्तै एकलव्यलाई औंठा काटेर गुरुदक्षिणा माग्ने गुरु द्रोणाचार्य आफ्नै शिष्य अर्जुनका हातबाट मारिए तर रुमानी उमेरमा जति हाने पनि बाणको निशाना निर्णायक युद्धअघि आफ्नै औंला चढाएर अज्ञात गुरुभक्तिमा निरीह बाँच्ने एकलव्यहरूको प्रशस्तिमा के अर्थ छ रूपान्तरणको ?
सधैं सधैं शासक उच्च बन्ने
बाँकी सबै शासित तुच्छ भन्ने।
त्यस्मै बगेको भ्रमको समाज
किमार्थ स्वीकार हुँदैन आज।।
कविले शासक उच्च बन्ने र शासित तुच्छ बन्ने भ्रमपूर्ण मान्यता मान्य नहुने र यो बदलिनेमा विश्वास गरेका छन्।
परम्पराका सब जीर्ण जामा
परम्परा सर्छ परम्परामा।
परम्परा तोड परम्पराको
बालेर आगो युग चेतनाको।
कविले यस पंक्तिमा गहिरो बोध भनेका छन्– परम्परा तोड परम्पराको। यसका लागि युग चेतनाको उज्यालो आवश्यक छ। यहाँ कविले परम्पराको थाङ्नामा सुतेकाहरुलाई ब्युँझन आह्वान गरेका छन्।
ब्युँझेर मान्छे जब तथ्य चिन्छ
सारा समस्या छिनमै सकिन्छ
विनम्रताको विधिशास्त्र हेर
परम्पराको थुतुनो नहेर।।
त्यस्तै, कविले भेटीका लागि धर्मकर्म गर्नेमाथि तीव्र प्रहार गरेका छन्।
छोऊ नछोऊ छुनु अर्थ हैन।
पापिष्ट त्यो हात पवित्र छैन।
भेटी लुटी मन्दिरकै अगाडि
पुजारीको चन्दन चाहिँदैन।
परिवर्तन हुनलाई दिल सफा हुनुपर्ने कविको बोध छ–
उक्लेर आफ्नो दिलको उकालो।
खुर्केर आफ्नै दिलभित्र कालो।
जो गर्छ आफ्नै दिलभित्र क्रान्ति
त्यै क्रान्ति हो शाश्वत पूर्णक्रान्ति।।
यस महाकाव्य गहन प्रश्नहरूको सागर हो र उत्तर पनि। महाकाव्यका खण्ड खण्ड चहार्दै गर्दा प्रश्नै प्रश्न भेटिन्छन्।
शिल्प कला भएका मान्छेलाई अछूत भनेर हेलाँ गर्ने पण्डित के वैचारिक रूपमा शुद्ध होला र ? आजका दिनमा कुन चाहिँ खानपान शुद्ध छ र ?
के कमाई शुद्ध छ ?
अन्न शुद्ध छ ?
तेल शुद्ध छ ?
चिनी शुद्ध छ ?
नून शुद्ध छ ?
प्रायः औषधिमा अल्कोहल अनिवार्य छ विविध खाद्यसामग्रीमा पनि अल्कोहल मिसाएका छैनन् र ?
आचरण भनेको सोच, विचार, व्यवहार र क्रियाकलापमा निहित छ। समाजलाई सही दिशा देखाउनु असल आचरण हो। समाजलाई गलत दिशा देखाउनु गलत आचरण हो। के खाए, के लाए– त्यो गौण हो।
अग्नि महाकाव्य र मेरो विचारमा समानता भेटेँ र दुई–चार अक्षर जानीनजानी कोरेँ–
यता उकासूँ श्रमको उज्यालो
उता निखारूँ दिलको अँध्यारो।
फैलेर चारैतिर एकनास
जीवन्त होस मानिसको सुवास।।
किमधिकम् ??






