चन्द्रागिरिको मातातीर्थमा भक्तजनकाे भिड
काठमाडाैं, वैशाख १७ : आज (शनिबार) देशभरि श्रद्धाभक्तिका साथ मातातीर्थ औँसी मनाइँदै छ।यस दिन छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान...
काठमाडाैं, वैशाख १७ : आज (शनिबार) देशभरि श्रद्धाभक्तिका साथ मातातीर्थ औँसी मनाइँदै छ।
यस दिन छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ। हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन्।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ।
यस अवसरमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थमा मेला लागेको छ। मेला भर्न हजारौको संख्यामा भक्तजनहरु मातातीर्थ पुगेका थिए।
जनश्रुतिअनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो। उक्त स्थानमा आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन्। आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए। उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो।
यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए। गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे।
हरेक वर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले। पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याएको संस्कृतिविदहरुको भनाई छ। आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’को मूर्ति समेत स्थापना गरिएको छ।












