म्याग्दीको गुर्जामा पाँच उम्मेदवार निर्विरोध
म्याग्दी, वैशाख १७ : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका पाँचै पदमा निर्विरोध जनप्रतिनिधि चयन भएका छन्।वैशाख १२ गते मनोनयन दर्ता गराएकाले उम्मेदवारी फिर्ता लिएपछि...
म्याग्दी, वैशाख १७ : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका पाँचै पदमा निर्विरोध जनप्रतिनिधि चयन भएका छन्।
वैशाख १२ गते मनोनयन दर्ता गराएकाले उम्मेदवारी फिर्ता लिएपछि एकल उम्मेदवारी कायम भएर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार चार जना नेकपा (माओवादी केन्द्र) र एकजना स्वतन्त्र उम्मेदवार निर्विरोध भएका हुन्। माओवादीबाट वडाध्यक्षमा झकबहादुर छन्त्याल, दलित महिला सदस्यमा सतमाया विक र महिला सदस्यमा सीता छन्त्याल निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, माओवादीकै चुनाव चिह्नबाट मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका वडा सभापति केआइसिङ छन्त्याल पनि वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुनराम छन्त्याल पनि निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भवीन्द्र छन्त्याल, वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका माओवादीका अमृता छन्त्याल र स्वतन्त्र उम्मेदवार तारामान विकले मनोनयन फिर्ता लिएका हुन्।
झक र सीता यसअघि २०७४ को स्थानीय तह चुनावमा पनि निर्वाचित भएका थिए। धवलागिरि गाउँपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेर उम्मेदवार बनाएका छन्। यस वडाको वडाध्यक्ष माओवादीको भागमा परेको थियो। (रासस)












