साझा उम्मेदवार जिताउन किसान संगठनको अपिल
काठमाडाैं, वैशाख १६ : सत्ता गठबन्धनसँग आबद्ध किसान संगठनले स्थानीय तह सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्।गठबन्धनमा आबद्ध नेपाली...
काठमाडाैं, वैशाख १६ : सत्ता गठबन्धनसँग आबद्ध किसान संगठनले स्थानीय तह सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्।
गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (मसाल) सँग आबद्ध किसान संगठनले पाँच दलीय गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन र गठबन्धनमा आबद्ध राजनीतिक दलका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका हुन्।
आज संयुक्त विज्ञप्ति जारी गर्दै पाँच सङ्गठनले कृषि क्रान्ति, वैज्ञानिक भूमिसुधार, खाद्य सम्प्रभुता, जलवायु न्याय, नेपाली किसानको हकहित र अधिकार तथा कृषि क्षेत्र व्यवसायीकरण, औद्योगिकीकरण, सहकारीकरण र दिगो विकासका पक्षमा उभिन सम्पूर्ण राजनीतिक दललाई आग्रहसमेत गरेका छन्।
गठबन्धनका उम्मेदवारलाई किसानमुखी नीति तथा कार्यक्रम अघि सार्दै निर्वाचनमा प्रस्तुत हुन आग्रह गर्दै उनीहरुले निर्वाचनमा विजयी भएपश्चात् ती कार्यक्रमलाई इमानदारितापूर्वक लागू गर्न ध्यानाकर्षण गराएका छन्।












