Kathmandu Press

उपाध्याय अनुभवी र पाको नेता : ओली

उपाध्याय अनुभवी र पाको नेता : ओली

काठमाडाैं, वैशाख १६ : एमाले अध्यक्ष केपी ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन्।

आज (शुक्रबार) शोक वक्तव्य जारी गर्दै उनले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहनुभएका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अनुभवी अभिभावक र निरन्तर आन्दोलनमा लागिरहेको प्रतिबद्ध नेता गुमाएको बताएका छन्।

नेकपामा विभिन्न महाधिवेशन र सम्मेलनमा भाग लिनुका साथै संस्थापक महासचिव पुष्पलालको सामिप्यमा रहेर उनले निरन्तर कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको पार्टीले स्मरण गरेको अध्यक्ष ओलीले जारी गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ। 

'हाम्रो पार्टी उहाँका समस्या योगदानको उच्च मूल्याङ्कन गर्दै उनका सकारात्मक योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहनेछन् भन्ने विश्वास व्यक्त गर्दछ,' अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ। 

उपाध्यायले २००७ सालको क्रान्तिबाट आफूलाई राजनीतिमा संलग्न गराउँदै कम्युनिष्ट पार्टीका विभिन्न घटकको नेतृत्व तहमा रहेर काम गरेको वक्तव्यमा जनाइएको छ।

उनी १९८७ साल वैशाख १२ गते तनहुँ जिल्लाको रिसिङ रामजाकोटमा पिता पूर्णकान्त उपाध्याय लम्साल र आमा विद्याकुमारी लम्सालको कोखबाट जन्मिएका थिए। 

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्