Kathmandu Press

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्र

म्याग्दी, वैशाख १६ : म्याग्दी सदरमुकामस्थित बेनी नगरपालिका–७ मङ्गलाघाटमा सडक कालोपत्र गरिएको छ । मङ्गलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर लामो सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो। 

मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखेको छ। सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको उक्त योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७७ माघमा काम सकिनुपर्ने थियो। 

Hardik ivf

मङ्गलाघाटको तल्लो बजार क्षेत्रमा करिब २०० मिटर सडक ढलान २०७५ साउनमै गरिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि रोहन श्रेष्ठले मङ्गलाघाटमा कालोपत्र गरिसकेको र केही दिनमा हाँडेभिरदेखि बगरफाँटतर्फको सडक पनि कालोपत्र गरिने बताए। सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको आयोजनामा व्यवसायीको लापरबाही र ढिलासुस्ती रहेको मङ्गलाघाटवासी सुवासकुमार श्रेष्ठले बताए । सडक कालोपत्र नहुँदा मङ्गलाघाटका बासिन्दालाई हिलो र धुलोले सास्ती भएको थियो । कालोपत्रसँगै हिलो र धुलोको समस्या हटेको छ।  

साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको भन्दै मङ्गलाघाटका बासिन्दाले गत वर्ष आन्दोलन नै गरेका थिए । हाडेभिर–बगरफाँट भकिम्ली, सिंगा र बरङ्जालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो। निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले कोरोना महामारी र निषेधाज्ञाका कारण पटकपटक प्रयास गर्दा पनि काम गर्न नपाउँदा ढिलाइ भएको बताए । उनले सडक निर्माण र कालोपत्र गरे पनि सम्बद्ध कार्यालयले बजेट विनियोजन नगरेको हुँदा समस्या भएको बताए। 

अक्सपाल्ट प्रविधिको कालोपत्रेका लागि गर्मी मौसम आवश्यक पर्छ । चिसोमा काम गर्न गाह्रो हुन्छ । यसअघिको दुई वर्षको गर्मीयाममा कालोपत्रको तयारी गर्दा कोरोना महामारी फैलिएपछि रोकिएको थियो । हाँडेभिरदेखि बगरफाँटसम्म नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम ससम्पन्न भएको छ।  

प्रकाशित मिति: १०:३० बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्