कुलमानको अर्को छलाङ : पाँच महिनामै सात अर्ब आम्दानी
काठमाडौं, २३ माघ : नेपाल विद्युत प्राधिकरण चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको छ । गत आर्थिक वर....

काठमाडौं, २३ माघ : नेपाल विद्युत प्राधिकरण चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवको पाँच महिनामै १५.४५ मा झार्न प्राधिकरण सफल भएको हो ।
चालु आवमा विद्युत चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको छ ।
प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए । “मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो । त्यसपछि आव ०७३/७४ मा घटाएर २२.९ मा झा¥यौं, आव ०७४/७५ मा २०.४५ मा रहेको चुहावटलाई घटाएर चालु आवको पाँचमहिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौ”, उनले भने ।
अझ चुहावट नियन्त्रण गरिने उनले बताए । “आवको बाँकी अवधिमा हाल रहेको चुहावटलाई अझै घटाउने गरी काम गरिरहेका छौं । यस कार्यमा विशेष गरि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिन रात नभनी खटिएका कर्मचारी साथीहरूको भूमिका महत्वपूर्ण रहेको छ,” कार्यकारी निर्देशक घिसिङले भने, “चुहावट नियन्त्रणका लागि राति खटिंदा हाम्रा कर्मचारीहरूले पिटाई समेत खाएका छन् ।” प्राधिकरणले करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट करिब सात अर्ब रुपैयाँ थप आम्दानी गरेकाे छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले विद्युत चुहावट घटाउने, संस्थाभित्रको आर्थिक तथा प्रशासनिक बेथिति नियन्त्रण गरि सुशासन कायम गर्ने, सेवाप्रवाहलाई सुधार गर्ने लगायतका निर्देशन प्राधिकरण व्यवस्थापनलाई दिएका छन् । प्राधिकरणले अहिले सोहीअनुसार काम गरिरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
गृह, ऊर्जा मन्त्री तथा सचिव, प्रहरी महानिरीक्षक लगायतको बैठकले विद्युत् चोरी नियन्त्रणका लागि स्थानीय प्रशासन र प्रहरीलाई व्यापक रुपमा परिचालन गर्ने निर्णय गरेको थियो । “विद्युत् चोरी नियन्त्रण अभियानमा गृृह मन्त्रालय, जिल्ला प्रशासन तथा सुरक्षा निकायहरूबाट निरन्तर साथ र सहयोग पाइरहेका छौं, सबैको संयुक्त प्रयासले मात्र यो अभियान सफल हुनेछ,” घिसिङले भने ।
सबैभन्दा बढी राजश्व संकलन गर्ने काठमाडौं क्षेत्रीय कार्यालयको गतवर्षको चुहावट ७.९४ प्रतिशत रहेकोमा चालु आवको पाँच महिनामा घटेर ७.७९ प्रतिशतमा सीमित भएको छ । क्षेत्रीय कार्यालय अन्तर्गतको भक्तपुर वितरण केन्द्रको चुहावट दुईवर्ष अघि करिब ४० प्रतिशत रहेकोमा अहिले घटेर १३.७२ प्रतिशतमा झरेको छ । लगनखेल वितरण केन्द्रको दुई वर्ष अघि करिब १५ प्रतिशत रहेको चुहावट अहिले घटेर ६.४१ मा सीमित भएको प्राधिकरणको तथ्याङ छ । प्राधिकरणले चोरी नियन्त्रणमा सहयोग नगरे बत्ती काट्ने (ब्ल्याक आउट) चेतावनी दिंदै आएको छ ।
दोस्रो बढी राजश्व संकलन गर्ने हेटौडा क्षेत्रीय कार्यालयको चुहावट १३.९१ प्रतिशत रहेकोमा घटेर ६.६६ प्रतिशतमा झरेको छ । औद्योगिक ग्राहक रहेको विरगंज, सिमरा र हेटौडा वितरण केन्द्रले चुहावट घटाएका कारण हेटौडा क्षेत्रीय कार्यालयको चुहावटमा उल्लेख्य कमि आएको हो । गत असारसम्म १०.७२ प्रतिशत रहेको चुहावट मंसिरम्ममा घटेर २.५० मा झरेको छ ।
दुई वर्ष अघि झण्डै ७० प्रतिशत चुहावट रहेको कलैया वितरण केन्द्रको अहिले घटेर ३९.९५ प्रतिशतमा झरेको छ ।
विराटनगर क्षेत्रीय कार्यालयको चुहावट १४.५१ प्रतिशत रहेकोमा घटेर ११.६१ प्रतिशतमा झरेको छ । यसैगरि, १४.१४ प्रतिशत चुहावट रहेको बुटवल क्षेत्रीय कार्यालयको चुहावट १३.२८ प्रतिशतमा झरेको छ । पोखरा क्षेत्रीय कार्यालयको चुहावट ११.४१ प्रतिशत रहेकोमा घटेर ८.६१ प्रतिशतमा सीमित राख्न प्राधिकरण सफल भएको छ । जनकपुर, नेपालगञ्ज र अत्तरिया क्षेत्रीय कार्यालयको चुहावट क्रमशः ३४.३६, १५.८४ र १५.२९ प्रतिशत रहेकोमा घटेर २६.२४, ९.७२ र १२.१९ प्रतिशतमा झरेको छ ।
प्रधिकरणले प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण गर्ने तथा नयाँ बनाउने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । प्राधिकरणले दुई वर्षमा पाँच हजार थान ट्रान्सफर्मर थप गरेको छ भने अगामी एक वर्षमा थप १० हजार थान थप्ने लक्ष्य राखि काम गरिरहेको छ ।
दुई वर्षको अवधिमा करिव १२ सय मेगावाटको प्रसारण तथा वितरण सबस्टेसनको क्षमता थप गरेकोे र एक वर्षभित्रमा करिव २६०० सय मेगावाटको थप हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । “प्रसारण लाइनतर्फ ६ सय सर्किट किलोमिटर थप गरिएको छ भने यस आव भित्रमा अझै करिब ६ सय सर्किट किलोमिटर थप्छौं,” उनले भने ।
कार्यकारी निर्देशक घिसिङले वितरण तिर पनि काम भइरहेको बताए । “वितरणतर्फ करिब आठ हजार किलोमिटर थप गरेका छौं, यस आव भित्रमा थप १० हजार किलोमिटर विस्तार गर्दैछौं । करिब सात लाख मिटर जडान भैसकेको छ भने यस आव भित्रमा थप करिव तीन लाख मिटर जडान गर्नेछौं यसले प्राविधिक चुहावट नियन्त्रणका लागि धेरै सहयोग गर्ने छ ।”
प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।
यस्तै, मिटर लिन प्रोत्साहित गर्न सुकुम्वासीलाई पनि मिटर सहज रुपमा दिने, स्थानीय तहको सिफारिस विनानै मिटर जडान गर्ने, अति विपन्नहरूलाई निःशुल्क मिटर वितरण गरिरहेको छ ।











-1754206481.jpg)