Kathmandu Press

म्याग्दीमा तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

म्याग्दीमा तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

म्याग्दी, वैशाख १४ :  म्याग्दी जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा तीन महिलाले पालिका प्रमुखको पदमा उम्मेदवारी दिएका छन् ।

नेकपा (एमाले)का तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन, नेकपा (माओवादी केन्द्र)को तर्फबाट रघुगंगा गाउँपालिकामा मीना विक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकाको प्रमुखमा मीना कुमारी शर्मा सापकोटाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए।

धवलागिरि गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिई एमालेको तर्फबाट पुनः अध्यक्ष पदकै उम्मेदवार बनेकी पुन २०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा निर्वाचित हुने एक्ली महिला थिइन्। माओवादी केन्द्र र राप्रपाले भने नयाँ अनुहारलाई पालिका प्रमुखको उम्मेदवार बनाएको हो ।

अघिल्लो निर्वाचनमा एमालेसँग तालमेल गरी बेनी नगरपालिकाको उपमेयर जितेको राप्रपाले यस पटक आफ्नै पार्टीको चुनाव चिन्ह हलोबाट मेयर र उपमेयर दुइटै पदमा आफ्ना उम्मेदवारलाई उतारेको छ । उपमेयरमा भने पूर्व जिल्ला अध्यक्ष एवं क्षेत्रीय सदस्य एकेन्द्रबहादुर रावललाई उम्मेदवार बनाएको छ । 
त्यस्तै, माओवादी केन्द्रले वडाध्यक्षबाट राजीनामा दिएका रिम कटुवाललाई रघुगंगा गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएको छ।  

प्रकाशित मिति: १७:०६ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्