म्यान्मारकी नेत्री आङसान सुकीलाई थप पाँच वर्ष जेल सजाय

वैशाख १४ : म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ। यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ।
पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको थियो। दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधबार बिहान ९ः३० बजे फैसला र सजाय सुनाएको हो। सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो।
सैन्य शासनको अधिनमा रहेको म्यान्मारको विशेष अदाललत गोप्य सुनुवाइपछि नेत्री सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता सुकीलाई सैन्य हिरासतमा राखिएको छ।
सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ। उहाँले सबै आरोपहरु अस्वीकार गर्नुभएको छ भने मानवअधिकारकर्मीहरुले पनि अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँदै आएका छन्।
उनलाई पाँच वर्षको थप जेल सजाय तोकिएपछि जेल बस्नुपर्ने कुल समय ११ वर्ष पुगेको जनाइएको छ। गत डिसेम्बरमा उनलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।












