Kathmandu Press

भागबन्डा विपरित धादिङका अधिकांश तहमा कांग्रेसको उम्मेदवार, ज्वालामुखीमा यमनाथ दनै

वडा तहमा गठबन्धनबीच सहमति जुट्न नसकेपछि कांग्रेसले धादिङका अधिकांश स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष दुबै पदका लागि मनोनयन दर्ता गराएको छ। मनोनयन फिर्ता लिने दिनसम्म सहमति जुटे भागबन्डाअनुसार अगाडि बढ्ने धादिङ कांग्रेसले जनाएको छ। 
भागबन्डा विपरित धादिङका अधिकांश तहमा कांग्रेसको उम्मेदवार, ज्वालामुखीमा यमनाथ दनै

धादिङ, वैशाख १२ : गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले धादिङका अधिकांश स्थानीय तहकाे अध्यक्ष /उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएको छ। गठबन्धनको बैठकबाट १३ मध्य एक नगरपालिका प्रमुख र ७ गाउँपालिकाको अध्यक्ष भागमा परेको भएपनि कांग्रेसले सोमबार करिब सबै स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा मनोनयन दर्ता गराएको हो।

गठबन्धनको प्रदेश संयन्त्रले नीलकण्ठ नगरपालिकाको प्रमुख सहित खनियावास, गंगाजमुना, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी, ज्वालामुखी, सिद्धलेक र थाक्रे गाउँपालिकाको नेतृत्व कांग्रेसले पाउने गरी भागबन्डा गरेको थियो। 

त्यस्तै धुनीवेशी नगरपालिका उपप्रमुखसहित रुबिभ्याली, गजुरी र गल्छी गाउँपालिको उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो। तर, सोमबार मनोनयन दर्ताको क्रममा भागबन्डा र सहमतिलाई बेवास्ता गर्दै कांग्रेसले सबै तहमा प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेको हो। 

Hardik ivf

कांग्रेस धादिङका सचिव विकास श्रेष्ठका अनुसार वडा तहमा सहमति जुट्न नसकेकाले तत्कालका लागि लगभग सबै तहमा प्रमुख र उपप्रमुख पदमै मनोनयन दर्ता गराइएको बताए। वडामा सहमति भए उम्मेदवारी फिर्ता लिइने उनले बताए। ‘मनोनयन फिर्ता लिने दिनसम्म सहमति भए भागबन्डा अनुसार नै अगाडि बढ्छौं, होइन भने कांग्रेसबाट यीनै उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिनेछन्,’ उनले भने। 

धुनीवेशीमा कांग्रेसले भागबन्डा अनुसार नै मनोनयन दर्ता गराएको छ। नगरपालिकाको उपप्रमुख पाएको कांग्रेसले सुरज उप्रेतीलाई उम्मेदवार बनाएको छ। त्यस्तै थाक्रे गाउँपालिकाको अध्यक्षमा रामप्रसाद बिडारीले मनोनयन दर्ता गरेका छन्। 

उपाध्यक्ष पाएको गल्छीमा कांग्रेसले भाइकाजी तिवारीलाई अघि सारेको छ। गजुरी गाउँपालिकामा भने कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा उम्मेदवारी दिएको छ। सचिव श्रेष्ठका अनुसार अध्यक्षमा अर्जुन न्यौपानेले उम्मेदवारी दिएका छन् भने शर्मिला विसुराल उपाध्यक्षका उम्मेदवार हुन्। माओवादीको भागमा परेको वेनिघाट रोराङमा कांग्रेसले पनि अध्यक्ष पदको उम्मेदवारी दिएको छ। कांग्रेसका  देवीप्रसाद सिलवालले अध्यक्ष र सुशिला मगरले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्। 

सिद्धलेकमा कांग्रेसबाट परशुराम खतिवडा अध्यक्षका उम्मेदवार हुन् । त्यस्तै ज्वालामुखीको अध्यक्षका लागि कांग्रेसबाट यसपटक यमनाथ दनैले टिकट पाएका छन्। अध्यक्ष बन्ने दौडमा रहेका विनोदराज तिमिल्सिना प्रतिस्पर्धाबाट बाहिरिएका छन्। उपाध्यक्षमा शान्ता श्रेष्ठले मनोनयन दर्ता गरेकी छन्।

त्रिपुरासुन्दरीमा पनि कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा मनोनयन दर्ता गरेको छ। सचिव श्रेष्ठका अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा राजु उप्रेतीले मनोनयन दर्ता गरेका छन् भने उपाध्यक्षमा सुमित्रा तिमिल्सिनालाई उम्मेदवार बनाइएको छ। 

त्यस्तै नेत्रावती डबजोङ गाउँपालिकामा मेघनाथ रिजालले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् भने सितामाया गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन्।खनियावास गाउँपालिकाको अध्यक्षमा रण बहादुर तामाङले मनोनयन दर्ता गरेका छन्। 

यसैगरी गंगाजमुनामा भक्तबहादुर लामा र रुबीभ्यालीमा फे लामा तामाङले गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गराएका छन्। नीलकण्ठ नगरपालिकामा भने यसअघिकै मेयर भीमप्रसाद ढुंगानाले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रकाशित मिति: १९:२५ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्