Kathmandu Press

कम्बोडियाका ९३ प्रतिशतले पाए कम्तिमा एउटा खोप 

कम्बोडिया, वैशाख १० : कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन्। तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई...
कम्बोडियाका ९३ प्रतिशतले पाए कम्तिमा एउटा खोप 

कम्बोडिया, वैशाख १० : कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन्। 

तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप नलगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले शनिबार दिएको जानकारी अनुसार नागरिकलाई लगाइएको खोप मध्ये सबैभन्दा धेरै चिनियाँ खोप रहेको छ। 

दक्षिण पूर्वी एसियाली मुलुक कम्बोडियामा सन् २०२१ को फेब्रुअरी देखि कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु भएको थियो। 

झण्डै १४ महिनाको अवधिमा कम्बोडियामा आयात गरिएको खोप मध्ये सबैभन्दा धेरै चीनबाट आयात गरिएको छ। 

‘मुलुकको एक करोड ४८ लाख ८० हजार मानिसलाई कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाइएको छ,’ मन्त्रालयका प्रवक्ताले भने । कम्बोडियामा अहिले झण्डै एक करोड ६० लाख जनसङ्ख्या रहेको छ। 

खोप लगाएका मध्ये ८८.३ प्रतिशतले भने दुबै खोप लगाएका छन्, त्यो जनसङ्ख्या एक करोड ४१ लाखभन्दा बढी हुन्छ ।

त्यसैगरी ८२ लाख मानिस अर्थात ५१ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् भने १३ लाख अर्थात आठ प्रतिशतले चौथो डोज लगाएका छन् ।  

यति धेरै मानिसले खोप लगाउँदा समेत कम्बोडियामा अहिले पनि दैनिक सङ्क्रमितहरू भेटिने गरेका छन् । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २८ जनामा नयाँ सङ्क्रमण देखिएको छ । मृतकको सङ्ख्या भने शून्य रहेको छ । 

कम्बोडियामा अहिलेसम्म कुल एक लाख ३६ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ५६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:१६ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्