श्रीलङ्कामा मास्क हटाउने निर्णय खारेज
कोलोम्बो, वैशाख ८ : श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले बिहीबार मास्क लगाउनु पर्ने नियमलाई हटाउने पूर्व निर्णयलाई पुनरावलोकन गर्दै सार्वजनिक स्थलमा मास्कलाई अनिवार्य लगाउनु पर्ने...
कोलोम्बो, वैशाख ८ : श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले बिहीबार मास्क लगाउनु पर्ने नियमलाई हटाउने पूर्व निर्णयलाई पुनरावलोकन गर्दै सार्वजनिक स्थलमा मास्कलाई अनिवार्य लगाउनु पर्ने निर्णय गरेको छ।
सरकारले यसअघि मास्क लगाउनुपर्ने नियमलाई केही खुकुलो पार्ने नीति लिएको थियो।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,'देशभर भइरहेका ठूला सार्वजनिक सभालाई ध्यानमा राखेर सार्वजनिकस्थलमा रहँदा मास्क लगाउनु पुनः अनिवार्य गरिएको छ।'
मेडिकल टेक्नोलोजिकल सर्विसेजका निर्देशक अन्भर हमदानीले सञ्चारमाध्यमलाई बताएअनुसार गत हप्ता एउटा प्राविधिक समितिले मानिसहरूलाई मुखमा मास्क लगाउन वा नलगाउन स्वतन्त्रता दिने निर्णय गरेको थियो।
उनले भने, 'विशेषज्ञहरूको उचित परामर्श बिना हतारमा निर्णय घोषणा गरिएको थियो । यसलाई पुनः विचार गरिएको छ।'
श्रीलङ्काले सन् २०२० को अक्टोबरमा कोरोनाभाइरस क्वारेन्टाइन नियमावली जारी गर्दै सार्वजनिक स्थलमा मास्क लगाउने र सामाजिक दुरी कायम राख्ने निर्णय सार्वजनिक गरेको थियो।












