दाउरा काट्न जाँदा गैंडाको आक्रमण, एकको मृत्यु र एक घाइते
कावासोती, असोज २८ : दाउरा र खर काट्न गएका स्थानीय बासिन्दामाथि गैडाले आक्रमण गरेको छ। गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु भए....
कावासोती, असोज २८ : दाउरा र खर काट्न गएका स्थानीय बासिन्दामाथि गैडाले आक्रमण गरेको छ। गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वन आइतबारदेखि दाउरा र खरका लागि खुल्ला गरिएको थियो। दाउरा र खर लिन गएका कावासोती–१३ का ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो। उनको शव सामुदायिक वनमा भेटिएको स्थानीय बासिन्दाले बताए।
वनभित्र दाउरा र खर काट्न गएका बखत गैडाको आक्रमणमा परी उनको मृत्यु भएको सामुदायिक वनका पूर्वअध्यक्ष बलिराम महतोले बताए।
त्यस्तै, कावासोती–१३ कै ३३ वर्षीय बुद्धिमाया गुरुङलाई पनि गैँडाले आक्रमण गरेको थियो। आक्रमणमा परी घाइते भएकी उनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए।
सामुदायिक वनमा वैन पैदावार निकासी खुलाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा त्यसो नगर्दा दुर्घटना भएको पूर्वअध्यक्ष महतोले बताए। सीमित क्षेत्रमा सुरक्षाको प्रबन्ध गरी वन पैदावर निकाल्न अनुमति दिँदा यस्ता किसिमका दुर्घटना हुनबाट जोगिन सकिने उनको भनाइ छ।