Kathmandu Press

मोबाइल चोरीको निहुँमा मारिएका थिए अर्जुन दास, यी हुन् अभियुक्त

भारतमा लुकिछिपी बस्दै आएका मनोज भण्डारीसहित चार जना बिहीबार रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ परेका हुन्। फरार रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
मोबाइल चोरीको निहुँमा मारिएका थिए अर्जुन दास, यी हुन् अभियुक्त

काठमाडौं, वैशाख २ : कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार अपराह्न सवा चार बजे महानगरीय अपराध महाशाखाको टोलीले हत्यामा संलग्नलाई पक्राउ गरी काठमाडौं ल्याएको हो। 

पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय दिलिप दास, मनोज भण्डारी, वमबहादुर बोहरा र सुमित साउद रहेका छन्। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले रुपन्देहिको बेलहिया नाकाबाट पक्राउ परेका चारै जनालाई सार्वजनिक गरेको छ। 

गत पुस ४ गते अमरावती सामुदायिक वनमा घाँटी छिनालिएको अवस्थामा अर्जुनको बीभत्स शव फेला परेको थियो। घटनाको करिब चार महिनापछि मात्रै प्रहरी आरोपितलाई पक्राउ गर्न सफल भएको हो। 

Hardik ivf

काम खोज्दै  बेलहिया नाका आइपुगेका थिए आरोपी 

अर्जुनको हत्यापछि फरार रहेका अभियुक्तहरु भारतमा लुकिछिपी बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीको टोली अभियुक्त खोज्न भारतसम्म पुगेको थियो, तर कहाँ लुकेका छन् भन्नेबारे भेउ पाउन नसकेपछि प्रहरी फर्किएको थियो। 

अभियुक्तहरुको मूभमेन्ट कुरेर बसेको प्रहरीले गोप्य सूचनाका आधारमा बिहीबार साँझ रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहिया नाकाबाट चारजनालाई नियन्त्रणमा लिई काठमाडौं ल्याएको हो।

काठमाडौंमा सार्वजनिक गरिएपछि चारैजनालाई कैलाली पठाइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।  

मोबाइल चोरी र अर्जुनको हत्या 

अर्जुनको हत्या हुनुभन्दा तीन दिन अघि सोही समूहका कमल साउदको मोबाइल हराएको थियो। प्रहरी अनुसन्धान अनुसार सुमित साउदले आफ्नो मोबाइल चोरेको भन्दै कमलले उनिमाथि कुटपिट गरेका थिए। तर सो मोबाइल अर्जुनले चोरी गरी हर्के भाट भन्ने व्यक्तिलाई दिएको सुमितले पत्ता लगाएका थिए। पछि हर्केबाट मोबाइल फिर्ता लिई कमललाई बुझाइएको पनि प्रहरी अनुसन्धानले देखाएको छ। 

अर्जुनकाे बीभत्स हत्या भएकाे अमरावती सामुदायिक वन।

सुमित पिटिएपछि उनका साथीहरु मनोज भण्डारी र बम बहादुर बोहराले कमलको २५ हजार बराबरको लागुऔषध (नाइट्राभेट) चोरी गरी अमरावती जंगलमा लुकाएको प्रहरीले जनाएको छ। 

अनाहकमा कुटिएपछि सुमितले अर्जुनसँग बदला लिने योजना बनाएका थिए। यसबारे अनभिज्ञ रहेका अर्जुन लागुऔषध सेवन गर्न पुस २ गते बेलुकी ६ बजे घरबाट निस्केका थिए। सुमितसहितको समूह अमरावती जंगलमै बसेका थिए, अर्जुनपनि उनीहरु भएका ठाउँमा पुगे।  

लागुऔषध सेवनपछि मोबाइल चोरी र सुमितमाथि कुटपिट भएको विषय झिकेर सबैले अर्जुनमाथि आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। निर्घात कुटपिटपछि सो समूहले अर्जुनलाई ४/५ घन्टासम्म हातखुट्टा बाँधेर राखे।  त्यसपछि साजको रुखमा बाँधेर खुकुरी प्रहार गरी अर्जुनको घाँटी छिनाले। 

अर्जुनको हत्या गरेपछि रातभरी अभियुक्तहरु शब नजिकै बसेर लागुऔषध सेवन गरि बिहान मात्रै घटनास्थलबाट फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

हत्यामा संलग्नमध्य मनोज भण्डारी, बादल बिक, दिलिप दास, बमबहादुर बोहरा, सुमित साउद र विवेक सिंह भारत प्रवेश गरेको र कनकलाल बिक, करन दर्नाल, शुशिल मयाल र उनका साथी कैलालीमै लुकेर बसेको प्रहरीले जनाएको छ। फरार रहेका अन्यको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार 

कैलालीमा २५ वर्षीय युवकको बीभत्स हत्या, शरीर र टाउको अलग 

अर्जुन दास हत्या प्रकरण : पहिचान खुलिसक्दा समेत किन पक्राउ परेनन् अभियुक्त ?
 

 

प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्