खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्नुपर्छ : प्रचण्ड
काठमाडाैं, चैत २६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताएका छन्।प्रज्ञा स्मृति...
काठमाडाैं, चैत २६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताएका छन्।
प्रज्ञा स्मृति प्रतिष्ठानले आज (शनिबार) यहाँ आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथुन २०७८ को समापन समारोहमा उनले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने बताएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गइरहेको बताए। उनले भने, 'निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र अन्य इन्डोर खेलको पूर्वाधार निर्माणले यसको सम्भावनालाई उजागार गरेको छ।'
निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाको बाँकी काम पूरा गर्नेगरी सहमति कायम भई प्रक्रिया अगाडि बढिरहेको उनले बताए। उनले थपे, 'छिट्टै निर्माणकार्य सुरु हुनेछ।'
साइकल परापूर्वकालदेखि मानव जीवनको अभिन्न अंगका रूपमा रहेको भन्दै उहाँले पछिल्ला दिनमा साइक्लिङ खेलको रूपमा समेत विकास भएकोमा खुसी व्यक्त गरे।
पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताए।
उनले साइक्लिङ खेललाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। स्वस्थ र सभ्य नागरिक उत्पादन गर्न खेल क्षेत्रमा सम्पूर्ण नागरिकलाई केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन र आर्थिक वृिद्ध गर्न सकिने बताए।
उनले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिए। राष्ट्रिय सहमतिको गौरवको आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने उनको भनाइ थियो।
कार्यक्रममा बागमती प्रदेश खेलकूद विकास समितिका अध्यक्ष सूर्य भण्डारीले खेलको माध्यमबाट स्वस्थ समाज निर्माण गर्न सकिने भन्दै बागमती प्रदेश खेलकूद समितिले सोहीबमोजिम आफ्ना गतिविधि अगाडि बढाएको बताए।
कार्यक्रममा तीन घण्टा २३ मिनेटमा ६५ किलोमिटर पूरा गरी मेरिना राना मगर प्रथम हुनुभयो भने सुधा तिमिल्सिनाले ४ घण्टा १२ मिनेट १३ सेकेण्डमा ६५ किमी पार गरी दोस्रो स्थान हासिल गरे।
त्यस्तै पुरूषतर्फ दुई घण्टा १२ मिनेट १९ सेकेण्डमा ६५ किमी पूरा गरी सन्दीप श्रेष्ठ प्रथम र त्रिभुवन आर्मी क्लबबाट दीपेश चौधरी दोस्रो बने।
म्याराथुनमा मास्टर सेरोमेनीमा विजयीहरूलाई पुरस्कृत गरिएको थियो। म्याराथुनमा उत्कृष्ट साइकल राइडर सुरज राना मगर एक घण्टा ५६ मिनेटमा ६५ किमी दूरी पूरा गरी सर्वोत्कृष्ठ बने।
कार्यक्रममा विभिन्न विधाका ४१ जना विजयी खेलाडीलाई नगद पुरस्कार तथा मेडल प्रदान गरिएको थियो। चितवनसहित ११ जिल्लाका खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए।











