Kathmandu Press

डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज  : प्रचण्ड

चितवन, चैत २५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताएका...
डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज  : प्रचण्ड

चितवन, चैत २५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताएका छन्।

भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सवका अवसरमा चितवनमा आयाेजित समारोहलाई यहाँ सम्बोधन गर्दै उनले स्वास्थ्य र शिक्षा मन्त्रालय, सम्बन्धित अस्पतालको त्रिपक्षीय सम्झौता गरेर मेडिकल कलेज स्थापना गर्नुपर्ने बताए।
 
डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो भने भरतपुर अस्पताल रहेको चितवन दाहालको गृह जिल्ला हो । 'प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा स्वास्थ्य, शिक्षा मन्त्रालय, सम्बन्धित अस्पताललगायतको त्रिपक्षीय सम्झौता गरेर सुदूरपश्चिम विश्वविद्यालयको मेडिकल कलेजका रूपमा विकास गर्ने एउटा मोडालिटी तयार भएको छ,' उनले भने, 'भरतपुर अस्पताललाई पनि सेन्टर अफ एक्सिलेन्सका रूपमा र एकेडेमिक सेन्टरको रूपमा त्यही मोडालिटीअनुसार मैले यहाँबाट फर्केर गएपछि प्रधानमन्त्रीलाई भन्नेछु।' 
 
उहाँले भरतपुर अस्पताललाई पनि त्यही मोडालिटीमा पोखरा विश्वविद्यालयको मेडिकल कलेजका रूपमा स्थापित गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताए। उनले भने, 'तपाईंले डडेल्धुरामा गर्नु भएछ अब पालो चितवनको भन्ने छु। मलाई विश्वास छ प्रधानमन्त्रीले मेरो कुरा काट्नुहुनेछैन। काट्न मिल्ने ठाउँ नै छैन।' प्रधानमन्त्रीले डडेल्धुरामा गरेपछि आफूले चितवनमा माग्नु बिलकुल जायज भएको बताए।
 
अस्पतालमा आवश्यक रहेको एमआरआई  सेवा, मुटुरोगसम्बन्धी क्याथ ल्याब, ओएनएम र एकेडेमीको कुरामा आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले भने, 'मैले यो अस्पताललाई आवश्यक परेका चारवटै कुरामा मेरो सहयोग रहने विश्वास दिलाउन चाहन्छु।'
 
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. सुनिलमणि पोखरेलले अस्पतालको वस्तुस्थिति र आवश्यकताका बारेमा प्रकाश पारेका थिए। न्यून जनशक्तिका कारण उपचारमा कठिनाइ भएको भन्दै आवश्यक पहलका लागि उनीहरुको अनुरोध थियो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति राजीव न्यौपाने, नेकपा समाजवादीका उपाध्यक्ष कृष्णराज न्यौपाने, नाम्सका डिन प्रा डा पियुष दाहाल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा कृष्णप्रसाद पौडेललगायतले बोलेका थिए। 

प्रकाशित मिति: १८:१२ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्