ठुला पार्टीबाट देश विकास चाहनु साँढेले दूध दिन्छ भन्नुजस्तै : लिङ्देन

काठमाडाैं, चैत २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीलाई संकेत गर्दै ती पार्टीलाई भोट दिनु भनेको देश बर्बाद पार्नु भएको बताएका छन्।
आज (शुक्रबार) काठमाडौंको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विद्यमान पार्टीहरूलाई जिताएर देश बन्छ भनेर कल्पना गर्नु साढेको टाङ मुनि बाल्टी थापेर दुध आउँछ भनेजस्तै भएको बताए।
उनले आगामी तीनवटै निर्वाचनमा ती पार्टीका बाकस खाली गरेर देखाउन कार्यकर्ताहरूलाई निर्देशन दिए।
अध्यक्ष लिङ्देनले गाउँतिर कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले आफ्नै पार्टीका नेताहरुलाई मन नपराउने गरेको बताए।
ठुला भनिएका पार्टीका नेताहरुले नै देश बिगारेको उनले बताए। उनले राप्रपाले लिएको मुद्दा देश बचाउने खालको भएको जिकिर गरे।
राप्रपाले लिएको मुद्दा देश बनाउने सबैलाई काम लाग्ने ओखती भएको उनको भनाइ थियो।











