सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन हुने, २ मन्त्रालयसहित सरकारमा जाँदै कांग्रेस
नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने गरी मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको हो। यसअघि सुदूरपश्चिममा कांग्रेस प्रतिपक्षको भूमिकामा छ।
काठमाडौं, चैत २५ : सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ। गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो।
उच्च स्रोतका अनुसार नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने गरी मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको हो। यसअघि सुदूरपश्चिममा कांग्रेस प्रतिपक्षको भूमिकामा थियो।
गठबन्धनका नेता रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै सुदूरपश्चिममा कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने बारे छलफल चलिरहेको बताएका थिए। ११ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेस पनि सहभागी भएपछि माओवादी केन्द्र, एकिकृत समाजवादीले आफ्ना मन्त्रिलाई फिर्ता बोलाउनुपर्नेछ।
स्रोतका अनुसार कांग्रेस दुई मन्त्रालय लिनेगरी सरकारमा सहभागी हुन लागेको हो। कुन मन्त्रालय भनेर तत्काल निर्णय भने भएको छैन। सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ।











