स्थानीय निर्वाचन : यस्ताे छ राप्रपा नेपालकाे घोषणापत्र
काठमाडाैं, चैत २५ : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।राजेन्द्र...
काठमाडाैं, चैत २५ : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गरेकै दिन राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज (शुक्रबार) घोषणापत्र सार्वजनिक गरेका हुन्।
स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने पहिलो पार्टी राप्रपा नेपाल बनेको छ।
सो पार्टीले घोषणापत्रमार्फत अबको मुख्य एजेन्डा विकास र समृद्धिको हुनुपर्ने बताएको छ।
राप्रपा नेपालले राजनीतिक विवादमा समय खेर फाल्न नहुने बताउँद राजतन्त्रको मुद्दा नबोक्ने भनेको छ।
राप्रपाको गत मंसिरमा सम्पन्न एकता महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित थापाले गत फागुन ७ गते राप्रपा नेपाललाई ब्युँताएका थिए।
अध्यक्षमा पराजित भएलगत्तै थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताएका थिए।
राप्रपा नेपाल पुनर्गठन गरेके बेला थापाले राजतन्त्रको एजेन्डा बोक्न नसक्ने बताएका थिए।
घोषणापत्रमा भनिएको छ, ‘अब राजनीतिक विवादमा समय खेर फाल्नु जरुरी छैन। अबको प्राथमिकता भनेको सुशासन, आर्थिक विकास र समृद्धि हो, जसका लागि शान्ति र स्थिरता आवश्यक पर्छ ।’
यही संविधानबाट अघि बढ्न सकिने बताएको राप्रपाले पार्टीको प्राथमिक वैचारिक राजनीतिक कार्यदिशा ‘राष्ट्रिय पहिचानका लागि हिन्दु राष्ट्रको पुनर्स्थापना’ हुने स्पष्ट पारेको छ।
‘देशमा यावत् समस्याहरूका बाबजुद पहिलो पटक नेपाली जनताले आफैं बनाएको संविधानबाट मुलुक परिचालित छ । तथापि, वर्तमान संविधान पनि शतप्रतिशत पूर्ण छैन, यसमा थुप्रै कमीकमजोरी र अपूर्णता छन्,’ घोषणापत्रमा भनिएको छ, ‘यसो भए पनि वर्तमान संविधानले जनताको अभिमतबाट प्रजातान्त्रिक ढंगमा आआफ्ना मान्यताहरु स्थापित गर्न मौलिक हक र स्वतन्त्रताहरु सुनिश्चित गरेको छ। अब यही संविधानबाट आफूले चाहेको नीति, प्रणाली र व्यवस्था स्थापित गर्ने अधिकार जनता र दलहरुमा निहित छ।’
घोषणापत्रमा संघीयताको वर्तमान स्वरुप र संरचना नै परिर्वतन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
सुशासन र समृद्धिमा प्रदेश सरकार उपलब्धिमूलक देखिन छोडेको मात्र नभई खर्चालु समेत बनेको राप्रपाको भनाइ छ।
नगरपालिकालाई क्रमशः आधुनिक र सबै सुविधायुक्त सहर (स्मार्ट सिटी) का रुपमा योजनाबद्ध विकास गर्ने र गाउँपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गराउनुपर्नेमा राप्रपा नेपालले जोड दिएके छ।











