राष्ट्रसंघको मानवअधिकार परिषदबाट रुस निलम्बित
वासिङ्टन, चैत २५ : रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ।राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषद्बाट रुस निलम्बित...
वासिङ्टन, चैत २५ : रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ।
राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषद्बाट रुस निलम्बित भएको हो। रुसले युक्रेनमाथी आक्रमण गरेर मानवअधिकार उल्लंघन गरेकाले मानवअधिकार परिषद्मा बस्न रुसलाई दिन नहुने भन्दै रुसलाई निलम्बन गरिएको जनाइएको छ।
महासभामा भएको मतदानमा रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो। त्यसैगरी ५८ देश मतदानमा सहभागी भएका थिएनन्।
रुसलाई मानव अधिकार परिषद्बाट निलम्बित गरिएकोप्रति अमेरिकाका राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गरेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्ल्याउनुपर्नेमा जोड दिए।
'संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् रुसलाई रहन नदिएकोमा मलाई अत्यन्त खुसी लागेको छ, राष्ट्रसंघीय महासभामा रुसविरुद्ध मतदान गर्नेहरुलाई धन्यवाद छ,' राष्ट्रपति बाइडेनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
परिषद्बबाट रुसलाई हटाउनु अन्तर्राष्ट्रिय रुपमा अर्थपूर्ण घटना भएको पनि उनले बताएका छन्।












