दुर्गम स्थानको परिभाषा बदल्नुपर्छ : गृहमन्त्री खाण
म्याग्दी, चैत २५ : गृहमन्त्री बालकृष्ण खाणले अहिलेसम्म मोटरबाटो नपुगेका वडा र गाउँलाई अति दुर्गम स्थानका रूपमा परिभाषित गरेर त्यही अनुसारको बजेट छुट्टयाई विकास गर्ने...
म्याग्दी, चैत २५ : गृहमन्त्री बालकृष्ण खाणले अहिलेसम्म मोटरबाटो नपुगेका वडा र गाउँलाई अति दुर्गम स्थानका रूपमा परिभाषित गरेर त्यही अनुसारको बजेट छुट्टयाई विकास गर्ने वातावरण निर्माण गर्न पहल गर्ने बताएका छन्।
म्याग्दीको धौलागिरि गाउँपालिका-१ को विकट गाउँ बुर्जामा शुक्रबार पुगेको गृहमन्त्री खाणले विकट स्थानलाई सुगम स्थानमा परिणत गर्न पहल गर्ने बताएका हुन्।
‘दुर्गम स्थानको बारेमा परिभाषा बदल्न जरुरी छ। मोटरबाटो नपुगेका स्थानमा मोटरबाट नपुग्दासम्म अति दुर्गम स्थानका रूपमा परिभाषित् गरेर त्यही अनुसारको बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्छ,’ गृहमन्त्री खाणले भने, ‘बुर्जा जस्ता विकट वडा र गाउँबारे थप योजना ल्याउन मन्त्रिपरिषद्, योजना आयोगसँग कुरा गर्छु।’
हिमालको फेदमा कडो कष्ट सहेर बसिरहेका नेपालीहरूले नेपाली भूमि, राष्ट्रियताको रक्षा गरिरहेको भन्दै उनले प्रशंशा गरे। हिमाल र तराईका मुलुकको सिमानामा बसेर नेपालको भूमि, राष्ट्रियता र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने नेपालीहरूलाई सरकारले सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो।
विकट गाँउमा मानवबस्ती भयो भनेर सुगममा सार्ने योजना ल्याउने गृहकार्यमा लाग्नु भन्दा दुर्गमलाई नै सुगम बनाउने योजना ल्याउनु उपयुक्त हुने गृहमन्त्री खाणको भनाइ थियो। ‘दुर्गम स्थानमा भयो भनेर बस्ती सार्ने होइन। विकटतामा पनि हामीले सुगमता खोज्ने योजना ल्याउने हो। नयाँ सम्भावना के हुनसक्छ, खोज्ने हो,’ गृहमन्त्री खाणले भने, ‘यहाँ विकट भनेर छोड्ने हो भने यहाँको भूमि, नदीनाला, र सार्वजनिक सम्पत्तिको जगेर्ना कसले गर्ने? यही विकट स्थानलाई सुगम बनाउन सरकारले पपहल गर्छ।’
जिल्ला सदरमुकाम बेनीबाट २६ कोष टाढा पर्ने बुर्जामा छन्त्याल र विश्वकर्माका २५० घरधुरी छन्। अत्यधिक हिँउ पर्ने यो स्थानमा जौँ, गौँ र आलुको मात्रै खेती हुन्छ । गृहमन्त्री खाणसँग तरुण दलका अध्यक्ष विद्वान् गुरुङ पनि छन्।











