Kathmandu Press

व्यवस्था बदल्ने चुनाव गरौँ भाग लिन्छौँ : विप्लव

चितवन, चैत २४ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले व्यवस्था बदल्ने चुनाव गरेमा भाग लिने बताएका छन्। जनआन्दोलन दिवसको अवसरमा भरतपुरमा...
व्यवस्था बदल्ने चुनाव गरौँ भाग लिन्छौँ : विप्लव

चितवन, चैत २४ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले व्यवस्था बदल्ने चुनाव गरेमा भाग लिने बताएका छन्। जनआन्दोलन दिवसको अवसरमा भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था असफल भइसकेको बताउएकाे बताएका छन्।

उनले संसदीय व्यवस्था संकटग्रस्त भएको बताउँदै भने, ‘आज पनि जनताको जीवनमा खास परिवर्तन भएको छैन। जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छैन, संसदीय व्यवस्था मुठिभरका पुँजीपति वर्गको व्यवस्था हो। देशलाई टाट पल्टाउने व्यवस्था हो। जनताको पक्षमा काम गर्न नसकेकाले यो व्यवस्था असफल भएर संकटग्रस्त भएको छ।’

उनले राजसंस्थाविरुद्ध २०६२ चैत २४ मा जनआन्दोलन सुरु भएको स्मरण गर्दै १९ दिन चलेको जनआन्दोलनले राजसंस्थाको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्याएको बताए। साथै उनले जनता जागरुक हुँदै गएपछि संसदीय व्यवस्था ढल्न फेरि पनि चैत २४ आउने बताए।

संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको व्यवस्था भएको भन्दै उनले जनताले शासन गर्न पाउने व्यवस्था ल्याउन वैज्ञानिक समाजवादको व्यवस्था लागू गर्नुपर्ने बताए । नेकपाले कहिल्यै पनि संसदीय व्यवस्थालाई स्वीकार नगर्ने भन्दै उनले यो व्यवस्था दलाल र पुँजीपति वर्गको मात्रै व्यवस्था भएको बताए।

‘यदि चुनाव नै गर्नुपर्छ भने ठिक छ। संसदीय व्यवस्थाको चुनाव होइन। संसदको चुनाव होइन। जनमत संग्रह गरौँ। व्यवस्थाको चुनाव गरौँ। नेपालमा संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठि । हामी त्यसका लागि तयार छौँ’, उनले भने।

२०३६ सालमा पञ्चायत र बहुदलबीच जनमतसंग्रह गरेजस्तै अहिले संसदीय व्यवस्था र बैज्ञानिक समाजवादको बीचमा जनमतसंग्रह गर्नुपर्ने उनले बताए। ‘हामी चुनौती दिन चाहन्छौँ। व्यवस्थाको चुनाव गरेर देखाउ। हामी त्यो चुनावमा लड्न तयार छौँ। भाग लिन तयार छौँ’, उनले भने।

‘संसदीय व्यवस्थाको चुनाव लुटेराको चुनाव हो। ठेकेदारको चुनाव हो’, उनले भने, ‘दलाल पुँजीपति वर्गहरु संसदीय व्यवस्थामा कालो धन थुपार्छन् र त्यही कालो धनको बलमा फेरि चुनाव जित्छन्।’

उनले एमसिसी परियोजना ल्याएर दलहरुले देश नै बेच्न लागेको बताउँदै वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा एमसीसी सम्झौता पास गर्ने, देशलाई बेचेर खाने पार्टीका उमेदवारविरुद्ध उमेदवारी दिन उनले आग्रह गरे।

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्