Kathmandu Press

हत्या गरिएकी कविताले डाक्टर बन्ने सपना पालेकी थिइन् 

कृष्णबहादुरले छोरीलाई सानैदेखि निजी विद्यालयमा पढाएका थिए। निजीभन्दा सरकारी विद्यालयमा पढे भविष्यमा छात्रवृत्ति पाउन सहज हुने थाहा पाएर दुई वर्षअघि मात्र उनले छोरीलाई सामुदायिक विद्यालय (कोसी जनता मावि) मा भर्ना गरेका थिए। 
हत्या गरिएकी कविताले डाक्टर बन्ने सपना पालेकी थिइन् 

काठमाडौं, चैत २४ : ‘बा ! म डाक्टर बन्छु, मलाई पढाउन सक्नुहुन्छ ? म पढेर केही गर्न चाहन्छु,’ केही दिनअघि छोरी (कविता)ले भनेका शब्द कृष्णबहादुर सुनुवारको कानमा अझै गुञ्जिरहेका छन्। ‘दुःखसुख गरेर पढाउँदै थिएँ, अकल्पनीय घटना हुन पुग्यो,’ कृष्णबहादुरले बिहीबार टेलिफोनमा भने 

कृष्णबहादुर ढुक्क थिए– छोरी स्कुल पुगेर पढिरहेकी छ। तर, उनले एकाबिहानै पत्याउनै नसक्ने खबर सुन्नुपर्‍याे— यशोदा खोलाछेउमा तपाईंकी छोरी कविता मृत अवस्थामा फेला परेकी छन्। खबरले उनी मर्माहत भए। 

उदयपुरको बेलका नगरपालिका– ३ बुद्धचोककी १७ वर्षीया कविता एसईईको तयारीमा थिइन्। एसईईकै लागि विद्यालयले बिहान ६ बजेदेखि अतिरिक्त कक्षा सञ्चालन गरेको थियो। आफ्नो घरदेखि लगभग २ किलोमिटरको दूरीमा रहेको विद्यालय पुग्न कविता बिहान ५ बजे नै घरबाट निस्कन्थिन्। 

Hardik ivf

सधैँझैँ उनी मंगलबार (चैत २२) बिहान उनी घरबाट निस्केकी थिइन्। छोरी घरबाट निस्केको केही घन्टामै कृष्णबहादुरले अप्रिय खबर सुन्नुपर्‍याे।    

डंगटोलको यशोदाखोला कृष्णबहादुरको घरदेखि करिब १ किलोमिटर दूरीमा छ। खबर पाएलगत्तै उनीसहित केही स्थानीय र इलाका प्रहरी कार्यालय रामपुरका इन्सपेक्टर तेजप्रसाद दाहाल नेतृत्वको टोली यशोदा खोलामा पुग्यो। खोलाछेउ कविताको शव रगताम्य अवस्थामा घोप्टो परेको थियो। इन्सपेक्टर दाहाल नेतृत्वको टोलीले प्रमाण नमेटियोस् भनी तत्कालै घटनास्थललाई सुरक्षित बनायो। 

घटनास्थलबाट प्रमाण संकलन गरेपछि प्रहरीले कविताको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो। स्तब्ध भई सबै दृश्य नियालेका कृष्णबहादुरले इलाका प्रहरी कार्यालय रामपुरमा किटानी जाहेरी दिए।  जाहेरीमा कवितासँगै पढ्ने १६ वर्षीया एक नाबालिग र ती नाबालिगका ठूलाबाका छोराको नाम उल्लेख गरिएको थियो। 

जाहेरीपछि प्रहरीले दुवैलाई पक्राउ गर्‍याे। बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलनमार्फत हत्यामा संलग्न भनी १९ वर्षीया विनोद ढकाललाई सार्वजनिक गरिसकेको छ। हत्या आरोपमा पक्राउ परेकी कविताकी सहपाठी नाबालिग रहेकाले सार्वजनिक गरिएको छैन। 

कविताकाे हत्या अभियाेगमा पक्राउ परेका विनाेद ढकाल

भारत सिक्किम राज्य बियुङ घर भएका विनोद एक वर्षदेखि उदयपुरमा काकाको घरमा बस्दै आएका छन्। पक्राउ परेकी नाबालिग विनोदको काकाकी छोरी हुन्। आफूलाई स–साना कुरामा होँच्याउने, चिढ्याउने गरेकाले हत्यासम्मको घटना हुन पुगेको आरोपी नाबालिगको भनाइ रहेको प्रहरीले जनाएको छ। 

मंगलबार बिहान आरोपी नाबालिगलाई स्कुल पुर्‍याउन विनोद पनि गएका थिए। उनीहरुबीच सल्लाह भएपछि विनोदले बाटोमा भेटिएको खाली बियरको बोतल टिपे। प्रहरीका अनुसार, कविता, विनोद र नाबालिग बाटोमा भेटिएर सँगै स्कुल जाँदै थिए, एकान्त जस्तोमा पुगेपछि विनोदले कविताको टाउकोमा बियरको बोतलले प्रहार गरे। कविता अचेत भएर ढलिन्। प्रहरी भन्छ— घाइते अवस्थामा छाड्दा मानिसले थाहा पाउने डर भएकाले उनीहरुले ढुंगाले किचेर कविताको हत्या गरेका रहेछन्। हत्यापछि दुवैले कविताको शवलाई घिसारेर यशोदा खोलासम्म पुर्‍याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

अब्बल छात्रा 

कृष्णबहादुरले छोरीलाई सानैदेखि निजी विद्यालयमा पढाएका थिए। निजीभन्दा सरकारी विद्यालयमा पढे भविष्यमा छात्रवृत्ति पाउन सहज हुने थाहा पाएर दुई वर्षअघि मात्र उनले छोरीलाई सामुदायिक विद्यालय (कोसी जनता मावि) मा भर्ना गरेका थिए। 

कोसी जनता माविमा ९ कक्षादेखि पढ्न थालेकी कविता पढाइमा अब्बल रहेको विद्यालयका प्रधानाध्यापक सूर्यमान शाह बताउँछन्। 

शाहका अनुसार, कविताले विद्यालयमा चार साथी बनाएकी थिइन्। जसमध्ये किँरातचोक बस्ने आरोपी नाबालिगसँग उनको गहिरो मित्रता थियो। ‘यतिसम्म कि पानी खान जाँदा–आउँदा पनि उनीहरू छुट्दैनथे। त्यति घनिष्ट मित्रताको गहिराईमा यतिसम्मको अपराध लुकेको रहेछ भनेर कल्पना समेत गर्न सकिँदैनथ्यो,’ प्रधानाध्यापक शाहले टेलिफोनमा भने। 

प्रधानाध्यापक शाह उनीहरुबीच विद्यालयमा कहिल्यै कुनै विषयमा विवाद वा झगडा भएको नसुनेको बताउँछन्। 

कविताका पिता कृष्णबहादुरका अनुसार, आरोपी नाबालिग कवितासँग आफ्नो घरमा आइरहन्थिन्। ‘उनीहरू सँगै विद्यालय जान्थे, सँगै फर्कन्थे, एउटै थालमा खाने र जहाँ गए पनि सँगै जाने साथी थिए,’ कृष्णबहादुर भन्छन्, ‘मंगलबार पनि उनीहरू सँगै विद्यालय जाँदै थिए। उनीहरूको मित्रतामा हामी पनि खुसी थियौँ।’ 

केही दिनअघि भने ती नाबालिगले कविताप्रति अलि अनौठो व्यवहार देखाएको कृष्णबहादुर बताउँछन्। ‘यहाँ आएर तिनले कविताको नयाँ कपडा च्यातिदिने, कैँचीले काटिदिने गर्न थालेकी थिइन्,’ उनी भन्छन्, ‘कविता भने साथी जिस्किएकी होला भनेर केही नभनी च्यातिएका र काटिएका कपडा हामीबाट लुकाउने गर्थिन्।’ 

छोरी गुमाएको शोकमा रहेका कृष्णबहादुर यतिखेर न्यायको पर्खाइमा छन्। उनी भन्छन्, ‘छोरी त गुमायौँ, दोषीलाई कडा कारबाही हुनुपर्छ।’ 

प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्