समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह
ललितपुर, चैत २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेकी...
ललितपुर, चैत २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेकी छन्।
आज (बिहीबार) ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकासको लक्ष्य लिइएको समेत बताइन्।
मन्त्री भुसालले निजी क्षेत्रका जति संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकलाप बढाउने विश्वास व्यक्त गरे। उनले उद्योगी व्यवसायीको समस्यामा समाधान गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखिन्।
चेम्बर अफ कमर्सले देशको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै मन्त्री भुसालले भनिन्, 'अर्थतन्त्रमा चेम्बरले पुर्याएको योगदान सराहनीय छ, आगामी दिनमा देशको आर्थिक विकासमा सफलता मिलोस्।' उनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रको सङ्गठन भए उपयुक्त हुन्थ्यो भन्ने आफूलाई लागेको बताइन्।
मन्त्री भुसालले निजी क्षेत्रका जति संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकलाप बढाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे।
संस्थाका ललितपुर अध्यक्ष पुष्परत्न शाक्यले स्थानीय र केन्द्रीय सरकारका एकाइमा चेम्बरको प्रतिनिधित्व हुनुपर्ने माग गरे।











