Kathmandu Press

आचारसंहिताका ६ विषयमा असहमति जनाउँदै एमालेले बुझायाे आयोगलाई पत्र

काठमाडौं, चैत २४ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगले हालै जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताका रहेका ६ विषयमा असहमति व्यक्त गरेको छ।एमाले...
आचारसंहिताका ६ विषयमा असहमति जनाउँदै एमालेले बुझायाे आयोगलाई पत्र

काठमाडौं, चैत २४ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगले हालै जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताका रहेका ६ विषयमा असहमति व्यक्त गरेको छ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले आज (बिहीबार) निर्वाचन आयोग बहादुरभवन पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर आचारसंहिताबारे असहमति व्यक्त गर्दै बुझाएको ध्यानाकर्षणपत्रमा ६ विषयमा सहमत हुन नसक्ने जनाएको छ।

निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलको प्रतिबद्धता लिन राखिएको कार्यक्रम केही दलहरूसँगको वादविवादका कारण तनावपूर्ण एवं असहज वातावरण बन्दा एमाले आचारसंहिता र त्यसमा उल्लिखित विषयमा प्रस्तुत गर्नैपर्ने आफ्नो दृष्टिकोण राख्ने अवस्था नभएको भन्दै ध्यानाकर्षणपत्रमार्फत आफ्नो धारणा प्रस्तुत गरेको एमालेले जनाएकाे छ।

एमालेले असहमति जनाएका विषयमा उम्मेदवार मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न नपाउने व्यवस्था,  कुनै पनि तहको कार्यपालिका सदस्य, मन्त्री, प्रधानमन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारमा रोक लगाउने व्यवस्थामा एमालेले असहमति जनाएको हो

सामाजिक सञ्जालमार्फत मत माग्न नपाउने व्यवस्था कहिलेदेखि लागू हुने हो स्पष्ट नभएको उल्लेख गर्दै एमालेले सो व्यवस्था तत्काल लागु गर्नु अनुपयुक्त मात्र नभएर अभिव्यक्ति स्वतन्त्रताको विपरीत हुने ध्यानाकर्षणपत्रमा उल्लेख छ।

उम्मेदवारले आफ्नो कार्यालयबाहेक अन्यत्र झन्डा र चुनाव चिह्न प्रयोग गर्न नपाउने, अनलाइन र वेबपेजबाट जुलुस तथा सभाको प्रचार गर्न नपाउने व्यवस्थाको पनि आशय खुलाउन पत्रमार्फत माग गरिएको छ।

मतदान अधिकृतले गरेको निर्णय तथा निर्वाचन अधिकृतले मत सदर वा बदर गरेको निर्णयमा विवाद गर्नेछैन भन्ने व्यवस्थामा पनि एमालेको असहमति रहेको छ।उक्त व्यवस्थाले निर्वाचनमा हुन सक्ने धाँधलीविरुद्ध अदालतमार्फत प्राप्त हुन सक्ने अधिकारमाथि अंकुश लगाउन खोजेको एमालेले जनाएको छ।

संविधान र कानुनसँग बाझिएका बाहेकका संहिता भने पालना गर्ने प्रतिबद्धता एमालेले जनाएको छ।

हेर्नुहोस् आयोगमा बुझाइएको पत्र

 

 

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्