संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास
सिन्धुपाल्चोक, चैत २४ : सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन्। गृह जिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ र ५ जोड्ने...
सिन्धुपाल्चोक, चैत २४ : सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन्।
गृह जिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट निकास निस्कने गरेको उल्लेख गर्दै संसद्को विवाद पनि संवादबाटै समाधान हुने उल्लेख गरे।
कोभिड–१९, राजनीतिक र जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका कारण यसबीचमा आम नागरिकसँग प्रत्यक्ष जोडिन र विकास निर्माणमा ध्यान दिन नसकिएको उल्लेख गर्दै सभामुख सापकोटाले अब अवस्थामा केही सहजता आएको बताए।
जुगल गाउँपालिका–५ को चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयमा उहाँको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका सभामुख सापकोटाले शिक्षाले नै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
आधुनिक र सुविधा सम्पन्न विद्यालय भवनको सही सदुपयोग गर्न विद्यालय परिवार र सम्बद्ध पक्षलाई सभामुख सापकोटाले सुझाव दिए। चीन सरकारको सहयोगमा निर्माण सम्पन्न रत्नराज्य माध्यमिक विद्यालय देशकै नमूना विद्यालयमध्यको एक हो।
सो अवसरमा विद्यालय परिवार र व्यवस्थापन समितिका तर्फबाट सभामुख सापकोटालाई विद्यालय भवन निर्माणको विशेष पहल र प्रयत्नका लागि आभार व्यक्त गर्दै संरक्षणका लागिसमेत पहल हुने विश्वास व्यक्त गरिएको थियो।
सभामुख सापकोटा जुगल गाउँपालिका–२ गोल्चे बगरस्थित वडाकार्यालय परिसरमा आयोजना गरिएको ‘जनतासँग सभामुख’ कार्यक्रममा समेत सहभागी भए।
सो अवसरमा उहाँले जनताको भावनाको सधैँ सम्मान गर्ने बताए। सभामुख सापकोटाले हाल स्तरोन्नति भइरहेको बलेफी जलविरे कात्तिके तेम्बाथान सडकखण्डको बलेफी खण्ड, हाल मर्मत सम्भार भइरहेको आँपबोटे जलविरे खण्ड र कालोपत्रको तयारी भइरहेको ढाँडे कात्तिके खण्डको निरीक्षणसमेत गरे।
बागमती प्रदेश पूर्वाधार कार्यालयका प्रमुख राजु श्रेष्ठसहितका सडक निर्माणमा संलग्न अधिकारीसँग निर्माणको अवस्थाबारे उनले जानकारी लिएका थिए। सो अवसरमा प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल, सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवालसहित सम्बद्ध अधिकारीको उपस्थिति थियो।











