Kathmandu Press

हुम्लामा हवाई उडान ठप्प, बिरामी र कर्मचारी अलपत्र

सिमकाेट, चैत २३ : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनदेखि हवाई उडान सञ्चालन नहुँदा यात्रुहरू समस्यामा परेका छन।हुम्ला, मुगु, जुम्ला र डोल्पामा...
हुम्लामा हवाई उडान ठप्प, बिरामी र कर्मचारी अलपत्र

सिमकाेट, चैत २३ : राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनदेखि हवाई उडान सञ्चालन नहुँदा यात्रुहरू समस्यामा परेका छन।

हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रूपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका हुन्।

हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान समस्या भएको छ।

उडान प्रभावित हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान तथा जिल्ला पुग्न थप समस्या भएको हो।

सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका हुन्।

पर्यटक आउने मौसममा निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको यात्रुहरूको भनाइ छ। निजी एअरलाइन्सले हुम्लामा दैनिक एक-एक उडान अनिवार्य गर्नुपर्ने नियम भएपनि त्यसलाई उल्लंगन गरी उडान ठप्प गरेको बताइएको छ।

निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि हुम्लामा उडान हुन नसकेको हो। हुम्लीहरूले अहिले नेपालगञ्ज-सुर्खेतमा रहेका होटलहरुमा चर्को भाडा तिरेर टिकटका लागि भौँतारिरहेका छन्।

यतिबेला यहाँको बिरामीलाई उपचार गर्न जिल्लाबाहिर जान समस्या भएको छ। हुम्लामा उडान नहुँदा सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै हुम्ली नागरिकले आक्रोश व्यक्त गरेका छन्।

नेपालगञ्ज-हुम्लाको २१ हजार भाडा

सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगम, नेपाल एअरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि २१ हजार ५०० यात्रुबाट हवाई भाडा लिएका छन्।

सहुलियत उडान कम गरिरहेको नेपाल एअरलाइन्सले हुम्लाका लागि चाटर उडान भर्दै एकजना यात्रुबाट १६ हजारदेखि २१ हजार ५०० टिकट भाडा लिने गरेको यात्रुको भनाइ छ।

नेपाल एअरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि सहुलियतमा ५ हजार ६०० लिँदै आएको भए पनि पछिल्लो केही दिनयता अन्य निजी एअरलाइन्सले उडान नगर्दा चार्टर्ड उडान भर्दै चर्को टिकट भाडा लिने गरेको हो।

नेपालगञ्जदेखि अन्य निजी एअरलाइन्सले चार्टर्ड उडान भर्दा ११ हजार ६०० सम्म भाडा लिने गरेका थिए। तर नेपाल एअरलाइन्सले एक्कासि भाडादर बढाउँदा हुम्लाका नागरिक मारमा परेका छन्।

प्रकाशित मिति: १८:३५ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्