जात्रालगायतका संस्कृति हाम्रा पहिचान हुन् : पूर्वअध्यक्ष रेग्मी
काठमाडाैं, चेत २३ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालका चाडपर्व र जात्रालगायतका संस्कृति हाम्रा पहिचान भएको बताएका छन।
राष्ट्रिय समाचार समिति(रासस)का फोटो पत्रकार रत्ककृष्ण श्रेष्ठको भक्तपुरको थिमिमा हुने ऐतिहासिक बिस्काः जात्रासम्बन्धी भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा प्रदर्शनीमा रहेको तीनदिने एकल फोटो प्रदर्शनीको अवलोकनपछि उनले आफनो सभ्यता र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले गरिएको फोटो प्रदर्शनी नयाँ आयाम भएको उल्लेख गरे।
पूर्वअध्यक्ष रेग्मीले भने, 'नेपाल र नेपालीको सभ्यता, संस्कृति र मौलिक पहिचान बोकेका जात्रालगायतका आफ्ना संस्कृति र परम्परालाई पुरानो पुस्ताबाट युवा हुँदै नयाँ पुस्तामा हस्तान्तरण गरी सम्मुनत बनाउनुपर्छ।'
भूकम्प र कोरोनाबाट अप्ठ्यारो खडा गरेको परिस्थितिमा समेत जात्रालाई निरन्तरता प्रदान गरिएका तस्वीर स्वयंबाट खुलेको बताउँदै उनले जात्रा र महोत्सव धार्मिक अवस्थासँग जोडिएकाले विदेशीले समेत निकै चासो र उत्साहपूर्वक लिने गरेको उल्लेख गरे।
पत्रकार श्रेष्ठले १० वर्षयता खिचिएका ठिमीमा मनाइने बालकुमारी, दक्षिण बाराही, विष्णुवीर, सिद्धिकाली गण, नगदेशको सिद्धि गणेश तथा बोडेको महालक्ष्मी गण र जिब्रो छेड्ने जात्राका एक सय तस्वीर प्रदर्शनीमा राखिएको छ। विद्यालयका छात्रछात्रा, समाजका विभिन्न क्षेत्रका व्यक्ति ऐतिहासिक जात्राका तस्वीर हेर्न प्रदर्शनीमा पुगेका थिए।