Kathmandu Press

चितवनबाट कार्यकर्तालाई प्रचण्डको उर्दी– इँटको जवाफ पत्थरले दिन तयार रहनुस्

गृहजिल्ला चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश र संविधान बचाउन माओवादीले पुनः एकपटक लड्नुपर्ने बताएका हुन्। 
चितवनबाट कार्यकर्तालाई प्रचण्डको उर्दी– इँटको जवाफ पत्थरले दिन तयार रहनुस्
तस्बिर : प्रचण्डकाे सचिवालय

काठमाडौं, चैत २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र संविधान बचाउन फेरि लड्नुपर्ने बेला आएको बताएका छन्। गृहजिल्ला चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश र संविधान बचाउन माओवादीले पुनः एकपटक लड्नुपर्ने बताएका हुन्। 

‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नैपर्छ । देशपनि लडेरै बचाउने हो, संविधान पनि लडेरै बचाउने हो । लड्ने भनेको हतियार उठाउने होइन कसैले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिने भनेको हो,’ प्रचण्डले भने। 

उनले चितवनमा माओवादी केन्द्रलाई परास्त गर्नका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको बताएका छन्। चितवनमा माओवादीले गरेको विकासबाट अत्तालिएका तत्वहरुले प्रचण्ड र माओवादीलाई कसरी कमजोर पार्न सकिन्छ भनेर अनेकथरी षड्यन्त्र गर्न थालेको बताएका हुन्। त्यस्ता षड्यन्त्रलाई परास्त गर्न तथा परिवर्तनका एजेण्डाको रक्षाका लागि फेरि लड्नुपर्ने बेला आएको उनले बताए। 

‘चितवनमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, नदी तटबन्धदेखि तमाम विकासका कामलाई अग्रगति दिने काम गर्दा पनि प्रतिक्रियावादीले किन षड्यन्त्र गरिरहेका छन्’ उनले प्रश्न गरे, ‘चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’

उनले चितवनमा भएको विकासका कारण आफू पनि छोरीको नाममबाट चिनिन थालेकाे बताए। युद्धकालदेखि नै रेणु दाहालले त्याग गरेको भएपनि  २०७४ सालको चुनावमा रेणु चितवन आउँदा प्रचण्डको छोरी आइन् भन्ने गरिएको उनले बताए।  ‘तर अहिले त्यो फेरिएको छ, अहिले रेणुको बुवा प्रचण्ड भनेर चिनिन थालेको छु,’ उनले भने। 

प्रकाशित मिति: १७:०५ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्